नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने 'कन्टेन्ट क्रिएशन तथा आर्टिफिसियल इन्टेलिजेन्स' तालिम सम्पन्न गरिएको छ ।
बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत सो तालिम सञ्चालन गरिएको हो ।
क्लबका अनुसार सो तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन कृतिम बौद्धिकता एआई सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।
तालिममा डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जाल मार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा एआई उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्देश निर्माण, एआई टुल्सको प्रयोग, एआई मार्फत कन्टेन्ट निर्माण, डिजिटल सेफगार्डिङ, तथा सामाजिक परिवर्तनका लागि प्रभावकारी कथा प्रस्तुतिकरण समावेश रहेका थिए ।
कार्यक्रमका सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बास्डर तथा परियोजना कर्मचारी गरी ४० जनाको सहभागिता रहेको थियो ।
कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्राविधिक सल्लाहकार बिनय दिल लामाले अहिलेको युग डिजिटल युग भएकाले समयसंगै प्रबिधिमैत्री हुन जरुरी रहेको बताए । साथै उनले युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरी भएको जनाउँदै एआईको प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दिए ।
त्यसैगरि संस्थाका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न, बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताए । बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।
कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र दुर्गा क्षेत्रीले सहजीकरण गरेका थिए भने समग्र व्यवस्थापन तथा समन्वय ईश्वर बिक र सबित्रा भाट एवं प्रमिसा थारुले गरेका थिए । तालिम पश्चात् सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनकालागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार