Listen LIVE

असी ग्राम ब्राउन सुगरसहित दुई जना पक्राउ

नेपालगञ्ज : बाँके प्रहरीले ठुलो परिमाणमा ब्राउन सुगरसहित एक महिलासहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार नेपालगन्ज उपमहानगरपालिका–१४ बाट ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगरसहित सोही स्थानका ४२ वर्षीय जसवन्त चौहान लोनिया र ३७ वर्षीया मिना कुमारी लोनियालाई पक्राउ गरिएको हो।

प्रहरीले पाएको विशेष सूचनाका आधारमा खटिएको टोलीले उनीहरूलाई खानतलासी गर्दा जसवन्त चौहान लोनियाको साथमा लुकाइराखिएको प्लास्टिकको पोका फेला पारेको थियो। उक्त पोका खोलेर जाँच गर्दा ८० ग्राम ३७० मिलिग्राम ब्राउन सुगर बरामद भएको बाँके प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित पक्राउ परेका दुवै जनामाथि लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। उनीहरूलाई हिरासतमा राखी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले उल्लेख गरेको छ।

प्रतिक्रिया