नेपालगञ्ज : नेपालगञ्ज भन्सार कार्यालयले गत आर्थिकवर्ष २०८२–८३ मा २० अर्वभन्दा बढी राजस्व सङ्कलन गरेको छ । नेपालगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले गत आवमा २० अर्व ९ करोड ४८ लख ७५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जानकारी दिए ।
गत आवमा सङ्कलन भएको राजस्व आव २०८१–८२ भन्दा केही न्यून भएको भन्सार कार्यालयले जनाएको छ । गत आवका लागि नेपालगञ्ज भन्सार कार्यालयले २४ अर्व ५४ करोड ५७ लाख ८२ हजार रुपैयाँ राजश्व संकलनका लागि लक्ष्य प्राप्त गरेको थियो । लक्ष्यको करिब ८१.८७ प्रतिशत राजस्व संकलन भएको छ ।
भन्सारको तथ्याङ्कअनुसार आर्थिक बर्ष २०८१–८२ मा २० अर्व २८ करोड ५१ लख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो । आव २०८०–८१ मा १८ अर्व १५ करोड ७२ लाख ३३ हजार रुपैयाँ राजस्व सङ्कलन भएको थियो ।
नेपालगञ्ज भन्सार कार्यालयबाट इन्धन, ट्रेक्टर तथा ट्रिलर, पोलिथिन दाना, चामल, खाद्यान्न, फलामलगायतका वस्तुको आयातबाट बढी राजस्व सङ्कलन हुने गरेको भन्सार कार्यालयको तथ्याङ्क छ । नेपालगञ्ज नाकाबाट जडिबुटी लगायतका सामग्रीको निकासी समेत हुनेगरेको छ । बिश्वब्यापी आर्थिक मन्दी लगायतका कारण राजस्व संकलन लक्ष्यअनुसार संकलन हुन नसकेको हो ।
इन्धन संकट र इन्धनको मूल्यमा अप्रत्याशित वृद्धिका कारण विकास निर्माणको गतिविधि, बजेट कार्यान्वयन तथा वस्तुहरूको आपूर्तिमा संकुचन आउँदा राजस्व संकलन पनि घटेको भन्सार कार्यालयले जनाएको छ ।
पछिल्लो समय कालोपत्रे सडकमा प्रयोग हुने बिटुमिन, कोइला, पीभीसी रेजिन, कम्पाउन्ड तथा अन्य कच्चा पदार्थहरूको मूल्य अत्यधिक बढ्दा आयात घटेको भन्सार तथ्यांकले जनाएको छ । पुँजिगत खर्च अपेक्षाकृत कम हुनु लगायतका कारण पनि लक्ष्यअनुसार राजश्वक संकलन हुन नसकेको हो ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार