Listen LIVE

राप्ती पुलको पिल्लर र स्पामको काम अन्तिम चरणमा

नेपालगञ्ज : हुलाकी राजमार्ग अन्तर्गत बाँकेको डुडुवा गाउँपालिका र राप्तीसोनारी गाउँपालिका जोड्ने राप्ती नदीस्थित सिधनियाघाटमा पक्की पुल निर्माणका लागि पिल्लर र स्पामको काम करिब अन्तिम चरणमा पुगेको छ ।

पुलमा ११ वटा पिल्लरमध्ये सबैको निर्माण सम्पन्न भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लिलाबहादुर भण्डारीका अनुसार पक्की पुलका लागि १० वटा स्पाम रहेकोमा आठवटा स्पाम निर्माणको काम सम्पन्न भइसकेको छ ।

बाँकी दुईवटा स्पाम समेत निर्माण कार्य धमाधम भइरहेको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका प्रमुख भण्डारीले भने, 'पुल निर्माणका लागि पुलका पिल्लरको काम सकिएको छ भने स्पाम निर्माण कार्य तिव्ररुपमा भइरहेको छ ।'

जमिनमुनी पिल्लरको काम सम्पन्न भएपछि पुल निर्माणमा कुनै अवरोध नभइ काम सम्पन्न हुने सुनिश्चित्ता भएको कार्यालयले जनाएको छ । साँघुरो पुल भएका कारण हाल सवारी साधनहरु पालो कुरेर पुल पार गर्नुपर्ने बाध्यताका कारण सिधनियाघाटमा ११ मिटर चौडाइको पक्की पुलको निर्माण कार्य थालिएको हो ।

सिधनियाघाटमा करिब डेढ दशकअघि निर्माण सम्पन्न भएको पुल साँघुरो भएपछि फराकिलो पुल निर्माण थालिएको हो । पुल निर्माणका लागि २०७९ माघ १० गते लुम्बिनी रौताह बन्धन भगवती जेभी काठमाडौंसँग ५३ महिनामा काम सम्पन्न हुने गरी सम्झौता भएको हो । पुलको लागत भ्याटसहित एक अर्ब १९ करोड रुपैयाँ रहेको छ ।

सिधनियाघाटमा अब ७०० मिटर पुल र एक हजार ४८० मिटर एप्रोच सडक र चार किलोमिटर नदी नियन्त्रणको काम एकसाथ सम्पन्न हुने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालयका प्रमुख भण्डारीको भनाइ छ । यसैगरी ३०० मिटर ढलानको काम हुनेछ । हालको ३५० मिटर लामो पुल नजिकै नयाँ पुल निर्माण थालिएको हो ।

प्रतिक्रिया