Listen LIVE

बाँके बारमा पहिलोपटक महिलाको नेतृत्व

नेपालगञ्ज : बाँके जिल्ला अदालत बार एशोसिएसनको अध्यक्षमा अधिवक्ता पुनम श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छन् । उनले अध्यक्ष बनेसँगै बाँके बारको इतिहासमा पहिलोपटक महिलाले नेतृत्व सम्हालेकी हुन् ।  

निर्वाचन समितिका प्रमुख निर्वाचन अधिकृत अधिवक्ता प्रह्लादबहादुर कार्कीका अनुसार नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको घोषणा गरिएको हो । निर्धारित पदहरूमा तोकिएको समयभित्र आवश्यक संख्यामा मात्र उम्मेदवारी परेकाले मतदान प्रक्रिया नगरी सम्पूर्ण कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको उनले बताए ।

निर्विरोध निर्वाचित ११ सदस्यीय कार्यसमितिको उपाध्यक्षमा अधिवक्ता जयप्रसाद पौडेल, सचिवमा अधिवक्ता शक्तिसिंह हमाल, कोषाध्यक्षमा अधिवक्ता चाहना शाह तथा सदस्यहरूमा अधिवक्ता रामनाथ साहु तेली, जमालुद्दिन अन्सारी, दामोदर भट्ट, सरस्वती शर्मा, मानबहादुर रावत, टिकाराम जैसी र उत्सव रेग्मी निर्वाचित भएका छन् । 

नवनिर्वाचित अध्यक्ष श्रेष्ठले नयाँ कार्यसमितिको मुख्य जिम्मेवारी सेवाग्राहीलाई सुलभ र सहज न्याय उपलब्ध गराउन पहल गर्ने रहेको बताइन् ।

उनले उच्च व्यावसायिक आचरण र मर्यादित व्यवहारमार्फत …बार र बेन्चÚ -अदालत र कानुन व्यवसायी) बिचको सम्बन्धलाई थप सुदृढ बनाउने प्रयास गरिने प्रतिबद्धता व्यक्त गरिन् । बाँके जिल्ला बारको इतिहासमा पहिलो पटक महिला नेतृत्व आएकाले जिल्लाको कानुनी क्षेत्रमा नयाँ ऊर्जा थपिने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया