Listen LIVE

बर्दियाको नदी तटीय क्षेत्रका बस्ती जोखिममा

बर्दिया : मनसुन सुरु हुनुअघि नै बर्दिया जिल्लाका एक हजार १४१ घरपरिवार बाढीको उच्च जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । 

यो जिल्लाको सिमाना भएर बग्ने कर्णाली, बबई, मान, औरही तथा भादा नदी तथा खोलाहरूको तटीय क्षेत्रमा बसोबास गर्ने परिवार सबैभन्दा बढी जोखिममा रहेका जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयले स्थानीय तहहरूबाट प्राप्त विवरणका आधारमा तयार पारेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाका आठ वटै स्थानीय तहका विभिन्न बस्ती बाढीको उच्च जोखिम क्षेत्रमा परेका छन् ।

तथ्याङ्क अनुसार सबैभन्दा बढी ठाकुरबाबा नगरपालिकाका २५१ घरपरिवार जोखिममा रहेको तथ्याङ्क सार्वजनिक भएको छ । यो क्षेत्रमा बबई र औरही नदीको बाढीले बर्सेनि क्षति पु¥याउने गरेको छ । त्यसपछि राजापुर नगरपालिकाका २०५ घर, गुलरिया नगरपालिकाका १७१, बारबर्दिया नगरपालिकाका १४८, गेरुवा गाउँपालिकाका १२६, मधुवन नगरपालिकाका १०३, बाँसगढी नगरपालिकाका ८० तथा बढैयाताल गाउँपालिकाका ५७ घरपरिवार बाढीको उच्च जोखिममा रहेको प्रशासनको तथ्याङ्कमा उल्लेख छ ।

जोखिममा रहेका क्षेत्रमा गुलरिया, राजापुर, ठाकुरबाबा, बारबर्दिया, मधुवन, बाँसगढी, गेरुवा र बढैयातालका विभिन्न वडा समावेश छन् । विशेष गरी नदी तथा खोलाको तटीय क्षेत्रमा रहेका बस्तीहरू बाढी र कटानको जोखिममा रहेको प्रशासनले जनाएको छ ।

बर्दियाका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालले स्थानीय तहहरूबाट प्राप्त तथ्याङ्कका आधारमा जोखिमयुक्त बस्ती पहिचान गरी पूर्वतयारीका कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए । उनका अनुसार सम्भावित बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा सुरक्षाव्यवस्था प्रभावकारी बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सरोकारवाला निकायसँग समन्वय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हमालले भने, 'नदी तटीय क्षेत्रका बस्तीलाई सुरक्षित राख्न पूर्वसूचना प्रणाली, जनचेतनामूलक कार्यक्रम, उद्धार सामग्री व्यवस्थापन तथा सुरक्षा निकाय परिचालनको तयारी गरिएको छ ।'

बर्दिया जिल्लामा प्रत्येक वर्ष मनसुनका बेला कर्णाली, बबई, मान, औरही र भादा नदीमा आउने बाढीका कारण जनधनको क्षति हुने गरेको छ । यस वर्ष पनि मनसुन सक्रिय हुने पूर्वानुमानसँगै प्रशासनले जोखिम न्यूनीकरणका लागि तयारी तीव्र बनाइएको जनाएको छ ।

प्रतिक्रिया