Listen LIVE

गायन क्षेत्रमा जम्दै शान्ति

कालीकोट : कालीकोटको खाँडाचक्र नगरपालिका–११ साबिकको बदाल्कोट गाविस २ मा जन्मिेकी शान्तिकुमारी शाही पछिल्लो समय गायन क्षेत्रमा जमेकी छन् । 

विद्यालय पढ्दा सामान्य देउडाबाट गायन सुरु गरे पनि यसरी लोक दोहोरीदेखि लोक देउडा हुँदै भजनसम्म पुग्छु भन्ने शान्ति आफैलाई पनि थाह थिएन । नामजस्तै शान्त स्वभावकी शान्तिकुमारी शाहीले गाउँमा हुँदा कलाकार बन्ने सपना चाहिँ देखेकी थिइन् । तर सफल हुन्छ कि हुँदैन भन्ने चिन्ताले शान्तिलाई सधैँ पिरली रहेको थियो । 

विद्यालय पढ्न जाँदा होस् या मेलापातमा जाँदा दुर्गममा सुनिने एकमात्र रेडियो नेपालबाट बज्ने देउडा कार्यक्रम भलासुकाली नछुटाई सुन्ने गरेकी थिइन् । आफ्नो रुचि कलाकार बन्ने भएकाले रेडियो नेपालको लोकप्रिय कार्यक्रममा गाउन सुरु गरिन् । हिमाली जिल्ला, शान्त भूमिमा २०४२ सालमा जन्मिएकी शाहीको स्वर पनि सुनौँ सुनौजस्तो लाग्थ्यो । 

उनलाई नजिकबाट चिन्ने मित दाजु कलाकार भरतराज विष्टले शान्तिले एकान्त गाउँमा देखेको सपना पूरा भएको सुनाए । आमा मिना शाही र बुवा वीरबहादुर शाहीकी कान्छी सन्तान शान्तिले औपचारिक रूपमा कलाकारिता क्षेत्रमा प्रवेश भने २०७४ सालमा गरेकी थिइन् । सुरुमा चल्तीकला नक्कले, जति हेर्यो त्यति राम्रो गीत गाएर गायिकाको सूचिमा परेकी शान्तिको अहिलेसम्म दर्जनौँ गीत बजारमा आएका छन् ।

प्रतिक्रिया