Listen LIVE

नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ शुरु

नेपालगञ्ज : नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ शनिवारदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको तीन दिने कन्क्लेभमा दुवै देशका पर्यटन व्यवसायी, नीति निर्माता, सुरक्षा निकाय र सरोकारवालाको सहभागिता रहेको छ ।

कन्क्लेभको उदघाटन नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले गरे  । उदघाटन समारोहलाई सम्बोधन गर्दै उपमहानगरपालिका प्रमुख विष्टले नेपालगञ्ज धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच साझा प्रयास आवश्यक रहेको बताए ।

कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा विस्तृत छलफल भएको थियो । प्यानल छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपक राज जोशी, नेपालगञ्ज उपमहानगरपालिकाका पूर्व प्रमुख धवल शमशेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी र नाट्टा बाँकेका पूर्व अध्यक्ष श्रीराम सिग्देल सहभागी थिए ।

छलफलमा सीमा क्षेत्रमा देखिने अनावश्यक कडाई, व्यवहारगत समस्या र लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटकलाई निरुत्साहित गरिरहेका जस्ता समस्याको समाधानका उपायबारे बहस भएको हो । वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन उदार र व्यवहारिक प्रोटोकल आवश्यक रहेकोमा जोड दिए । कन्क्लेभमा भारतीय टुर एण्ड ट्राभल सञ्चालक र पत्रकारहरुको सहभागिता रहेको थियो । भारतीय पक्षका सहभागीहरूले पर्यटकसँग सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठन गर्न सुझाव दिएका थिए ।

बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार्दै पर्यटकमैत्री प्रहरी सेवा सुनिश्चित गर्न आफू प्रतिबद्ध रहेको बताए । “यी विषयहरू दशकौँदेखि उठिरहेका छन्, अब ढिलाई गर्नु हुँदैन,” उनले भने, “सीमामा हुने सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको छ । पर्यटकलाई दुःख दिने हाम्रो उद्देश्य होइन, सरोकारवालासँग बसेर समस्या समाधान गर्छौं ।”

नेपाल पर्यटन बोर्डका सिइओ जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको उल्लेख गर्दै यस्ता अन्तरदेशीय कार्यक्रमले प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले नेपाल वेडिङ डेस्टिनेशन र वेलनेस र वाइल्डलाइफ टुरिजमका लागि उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले केही समय अघि पर्यटकले व्यहोर्दै आएको भुक्तानी प्रणालीको झन्झट पनि हाल सहज भइसकेको बताए ।

नाट्टाका पूर्व अध्यक्ष तथा कार्यक्रम संयोजक सिग्देलले नेपालगञ्जलाई उत्कृष्ट वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने बताउँदै दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडानको प्रस्ताव अघि सारे । सीमापार सहकार्य र निरन्तर संवादमार्फत पर्यटनमा देखिएका अवरोध समाधान गर्न सकिने उनको भनाई थियो । नेपालगञ्जका पूर्व मेयर राणाले सीमाका समस्या सहज बनाउने र नेपालगञ्जको वास्तविक पर्यटन सम्भावना उजागर गर्ने दुई मुख्य कार्य अहिलेको आवश्यकता भएको बताए ।

कार्यक्रममा भारतीय टुर अपरेटर शैलेश अग्रवालले हवाई उडानमा तोकिएको भन्दा बढी शुल्क लिने गरिएको गुनासो गरे भने अर्का टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा शंकास्पद दृष्टिले हेर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने धारणा राखे । हान नेपालका केन्द्रीय सदस्य दीवाकर खनालले पशुपतिनाथ–केदारनाथ, जनकपुर–अयोध्या र लुम्बिनी–बोधगया जस्ता सर्किट विकास गर्न सके धार्मिक पर्यटनमा ठूलो फड्को मार्न सकिने बताए । बागेश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटन स्वतः विस्तार हुने धारणा व्यक्त गरे ।

करिब ४० जना भारतीय टुर अपरेटरसहित आयोजित कन्क्लेभमा ३२ वटा स्टल राखिएका छन् । कार्यक्रममा ‘बी–टु–बी’ सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी समेत समावेश गरिएको छ । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले सीमापार पर्यटनलाई चलायमान बनाउन ‘क्रस–बोर्डर टुरिजम कन्क्लेभ’ प्रभावकारी प्लेटफर्म बनेको बताए ।

प्रतिक्रिया