गुल्मी : वर्षौंदेखि यसै बाँझिएर रहेको जग्गालाई सदुपयोग गर्दै गुल्मीमा केरा खेती सुरु गरिएको छ । रेसुङ्गा नगरपालिका–४, सेउघाको थुक्का टोलमा बर्सौंदेखि बाँझिएर रहेको जग्गामा भगवती कृषि फार्मले २० रोपनी बाँझो जग्गा लिजमा लिएर केरा खेती गर्न थालेको सञ्चालक झबी पाण्डेले जानकारी दिए ।
फार्मले पहिलो चरण तीन सयभन्दा बढी केराका बिरुवा लगाइएको र यसलाई विस्तार गर्दै लैजाने योजना रहेको सुनाए । स्थानीय जातका केराका बोटलाई विस्तार गर्दै लाने र गाउँका अन्य कृषकलाई पनि कृषि पेसामा आबद्ध गराउने उनको भनाइ छ । तम्घासमा खाद्यान्नको थोक विक्रेताका रूपमा व्यवसाय गर्दै आएका उनले बचेको समयलाई सदुपयोग गरेर आफ्नै गाउँमा कृषि पेशा पनि गर्दै आएका छन् ।
बाँझो जग्गामा गर्न लागिएको केरा खेतीको नगरप्रमुख खिलध्वज पन्थी, वडा नम्बर–४ का वडाध्यक्ष लीलाधर आचार्यसहितको टोलीले स्थलगत निरीक्षण गर्दै अनुगमनपछि व्यावसायिक कृषि गर्ने किसानलाई नगरपालिकाले सक्दो सहयोग गर्दै आएको नगरप्रमुख पन्थीले बताए । गाउँमै व्यावसायिक कृषि र पशुपालन गर्ने कृषकलाई अनुदान, उपकरणका साथै प्राविधिक ज्ञान नगरपालिकाले प्रदान गर्दै आएको पन्थीको भनाइ छ । युवालाई स्वदेशमा नै टिकाइराख्न र स्वरोजगार बनाउन व्यावसायिक कृषि र पशुपालनमा लाग्न उनले आग्रह गरे ।
बजारमा स्थानीय जातको केराको माग धेरै नै रहेको छ । खानका लागि स्वादिष्ट हुने भएकाले यसको मूल्य पनि राम्रो पर्ने गर्छ । पछिल्लो समय गाउँ गाउँमा बसाइँसराइका कारणले जग्गा जमिन बाँझै हुने क्रम पनि बढ्दै गएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार