Listen LIVE

खजुरा बजार खण्डको १८ सय मिटर सडकको कन्तबिजोग

नेपालगञ्ज : नेपालगञ्ज–गुलरिया खण्ड तयार भएर सरर गाडी गुड्न थाल्दा खजुरा बजार क्षेत्रको १८सय मिटर सडकको भने कन्तबिजोग भएको छ । बाँकेको खजुरा तथा बर्दियाको गुलरिया सडक खण्डमा निर्माणाधिन सडकको तीन पटक म्याद थप, दर्जनौपटक काम सुधारको ताकेता र त्यस यता पनि लगातार बिभिन्न सुबिधा दिएर काम गर्ने अवसर दिँदा पनि ठेकेदार कम्पनी गजुरमुखी कन्ट्रक्शनबाट काम हुन नसकेपछि गत वर्षको साउन २८ गते ठेक्का सम्झौता तोडिएको थियो । तर ठेक्का सम्झौता तोड्ने सडक विभागअन्तर्गत सडक डिभिजन कार्यालय नेपालगञ्जका विरुद्ध ठेकेदारले मुद्दा दर्ता गराएर अलपत्र सडकमा काम गरे जस्तो नाटक शुरु गरेको थियो ।

सम्झौता अनुसारको गुणस्तरमा लापरवाही सुधार गर्न, समयसिमाभित्र काम सम्पन्न गर्न र ठेकेदारको मागअनुसार पटक पटक म्याद थप गर्दापनि ठेकेदार कम्पनीले सडकको काम सम्पन्न गर्ने तदारुकता नदेखाएपछि डिभिजन कार्यालय नेपालगञ्जले ठेक्का सम्झौता तोडेको थियो ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर लम्बाइको चारलेन सडक २०७४ चैतमा गजुरमुखी कन्स्ट्रक्सन कम्पनी, इलामले निर्माण थालेको थियो । उक्त सडक २०७७ चैतमा निर्माण सम्पन्न गर्नुपर्ने थियो । ठेकेदारको चरम लापरवाहीका विरुद्ध स्थानीयले पटक पटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सम्झौता ताडेर कालो सूचीमा राख्न माग हुँदै आएपनि ठेकेदार कम्पनीले सडकको विरुद्ध उच्च अदालतमा मुद्दा दर्ता गराएर खजुरा सडक खण्डको अवस्था थप कन्त विजोग बनाउने योजना बनाएको खजुराका स्थानीय अगुवा रोसन सापकोटाले बताए ।

बाँकेको खजुरा बजारमा एक हजार आठ सय मिटर र बर्दियाको गुलरियामा दुई हजार दुई सय मिटर लम्बाइको सडक निर्माणका लागि रु २१ करोड ४९ लाखमा सम्झौता भएको थियो । पछिल्लो समय भने नागरिकको पटक पटकको माग पछि हुलाकी सडकको योजना कार्यालय नेपालगन्जले सो सडक बनाउन सकिने संकत गरेको छ । 

बाँकेका जनप्रतिनिधिहरुको सिफारिस र नागरिक स्तरको पटक पटकको आन्दोलन पछि हुलाकी सडक निर्देशनालयमा नेपालगञ्ज गुलरिया सडकको बिचभागमा रहेको १ हजार ८०० मिटर निर्माणमा चासो देखाएको स्रोतको भनाई छ । जनप्रतिनिधिहरुबाट सिफारिस आएको स्वीकार गर्दै केन्द्रको निर्देशन पाए सडकको स्तरोन्नती गर्न सकिने योजना कार्यालय प्रमुख भण्डारीले बताए ।

प्रतिक्रिया