Listen LIVE

जुम्लाको स्याउ तम्घासमा

गुल्मी : गुल्मीको सदरमुकाम तम्घासमा जुम्लाको स्याउ बिक्रीका लागि ल्याइएको छ । सिंजा गाउँपालिका वडा नम्बर–१ का मनिषचन्द्र आचार्य र वडा नम्बर–३ का परेकराज धितालसहित चार जनाले त्यहाँको स्याउ बिक्रीका लागि यस जिल्लाको सदरमुकाम तम्घाससँगै ग्रामीण भेगसम्म पुर्याएका छन् । 

विभिन्न स्थानमा यातायातको सुविधा भएसँगै जुम्लाको स्याउलाई बाहिर अन्यत्र जिल्लामा पुर्याउन थालिएको छ । तम्घासमा झण्डै ३५ क्विन्टल स्याउ ल्याइएको हो । स्याउ ल्याएको पाँच दिनको अवधिमा झण्डै १० क्विन्टल बिक्री गरी सकिएको छ ।  

जुम्लादेखि ल्याइएको सबै स्याउलाई बिक्री गर्नका लागि आफू बजार क्षेत्रसँगै ग्रामीण क्षेत्रमा पनि पुगेको परेकराज धितालले बताए । 

जुम्लामा प्रति केजी झण्डै ८० रुपैयाँ पर्ने स्याउ यहाँ दुई सय रुपैयाँसम्म बिक्री गरिएको भन्दै उनले स्याउलाई बिक्री गरेर सकेपछि स्थानीयको माग अनुसार पुनः जुम्लादेखि ल्याउन सकिने बताए ।  जुम्लाका स्थानीयले आफ्नो बारीमा चार–पाँच सय स्याउका बोट लगाएको धितालले बताए ।  

जुम्लादेखि पहिलोपटक यसरी आफैले स्याउ ल्याएर बिक्री गरेको उनले बताए ।  जुम्लाको स्याउ यहाँका स्थानीयले निकै खुशी भएर किन्ने गरेका छन् ।

प्रतिक्रिया