Listen LIVE

मूल्यवृद्धिविरुद्ध बाँकेका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

नेपालगञ्ज : मध्य पूर्वमा जारी युद्धका कारण इन्धन, बिटुमिन, निर्माण सामग्री, ढुवानी तथा श्रमिक लागतमा भएको अत्यधिक मूल्यवृद्धिका कारण निर्माण क्षेत्र संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूको केन्द्रीय समितिको निर्णयानुसार देशभर विरोध कार्यक्रम शुरु भएको छ ।

उक्त निर्णयानुसार आज देशभरका जिल्ला निर्माण व्यवसायी संघहरूले जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत बाँकेमा पनि निर्माण व्यवसायीहरू सक्रिय देखिएका छन् ।

यसै क्रममा बाँके निर्माण व्यवसायी संघले बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ समक्ष ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमार्फत निर्माण सामग्री तथा इन्धन लगायतका वस्तुमा भइरहेको अप्रत्याशित मूल्यवृद्धि नियन्त्रण गर्न र निर्माण क्षेत्रलाई सहजरूपमा सञ्चालन गर्न आवश्यक पहल गर्न माग गरिएको छ ।

निर्माण व्यवसायीहरूले मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिन भएको उल्लेख गर्दै समयमै समस्या समाधान नभए निर्माण कार्य पूर्णरूपमा बन्द हुने अवस्था आउन सक्ने चेतावनी दिएका छन् ।

केन्द्रीय समितिको पूर्व निर्धारित कार्यक्रम अनुसार नै आज प्रमुख जिल्ला अधिकारीमार्फत ज्ञापनपत्र बुझाइएको हो । साथै, आगामी जेठ १ गते प्रदेश सरकारसमक्ष र सोही दिन तथा जेठ ४ गते विभिन्न पूर्वाधारसम्बन्धि कार्यालयहरूमा समेत ज्ञापनपत्र बुझाउँदै धर्ना कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

प्रतिक्रिया