Listen LIVE

उखरमाउलो गर्मीका कारण बाँकेमा दुई जनाको ज्यान गयो

नेपालगञ्ज : पछिल्लो समयमा बाँके लगायतका जिल्लामा बढेको गर्मी र तातो हावा लु का कारण जनजीवन अति नै प्रभावित भएको छ ।

उच्च गर्मीकै कारण बाँकेमा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खजुरा गाउँपालिकाका सुन व्यवसायी टोपेन्द्र सुनारको गर्मीका कारण बेहोस भएर मृत्यु भएको हो । 

खजुरा बजारमा मेट्रो ज्वेलर्स सञ्चालन गर्दै आएका सुनार शुक्रवार मोटरसाइकलमा घरबाट पसलतर्फ आइरहेका बेला गर्मीले चक्कर लागेपछि मोटरसाइकल रोकेर सडक किनारमा बस्दा बेहोस भएका थिए । 

खजुराको धनौलीमा बेहोस हुनुभएका सुनारलाई स्थानीय र प्रहरीले उद्धार गरी अस्पताल पु¥याउँदा चिकित्सकले मृत्यु भइसकेको बताएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले जानकारी दिए । 

यसैगरी नेपालगञ्जस्थित नीलसागर आश्रममा बस्दै आएका १०४ वर्षका कैलाश गिरीको अत्यधिक गर्मीका कारण मृत्यु भएको आश्रमकी सञ्चालक सरिता खनालले जानकारी दिइन् । 

गिरीलाई उपचारका लागि भेरी अस्पताल पु¥याउँदा चिकित्सकले मृत घोषणा गरेको खनालले बताइन् । नीलसागर आश्रम नेपालगन्जमा २१६ जना वृद्धवृद्धा र ७५ जना बालबालिका गरेर २९६ जनाले आश्रममा आश्रय लिइरहेको जानकारी उनले गराइन् । 

पछिल्लो केही दिनयता बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा अत्यधिक गर्मी बढेको छ । बाँकेको तापमान ४४ डिग्रीभन्दा माथि पुगेपछि गर्मीका कारण सयौं मानिस बिरामी परेका छन् । 

अत्यधिक गर्मी बढेकै कारण यहाँको जनजीवन अस्तव्यस्त बनेको छ भने सर्वसाधारणले दिनरात कटाउन नै धौधौ भएको जनाएका छन् । 

अत्यधिक गर्मीका कारण मानिसहरु बेहोस हुने, झाडा पखाला र वान्ता हुने, टाउको दुख्ने तथा छाला चिलाउनेदेखि ज्वरो आउने क्रम बढ्दै गएको चिकित्सकले नै बताएका छन् ।

प्रतिक्रिया