Listen LIVE

गौघाट ग्रीन रनको उपाधि विजय र विनिसालाई

नेपालगञ्ज : पर्यावरण सम्बन्धि जनचेतना जगाउने उद्देश्यले बाँकेको खजुरामा आयोजित गौघाट ग्रीन रन रोड रेसमा जनता नमुना उच्च माविका विजय खड्का र अमर माविका  विनिसा एलजीले उपाधि जितेका छन् ।

शनिबार भएको दौडमा छात्रतर्फ ज्ञानोदय नमुना माविकका खगेन्द्र भण्डारी द्वितीय र जनता माविकै हेमन्त खत्री तृतीय भए । छात्रातर्फ अमर माविकै विनिता पुलामी मगर दोस्रो र जनताकै ऋतु बिष्ट तृतीय भए ।

धारा नेपालगञ्ज म्याराथनको दशक यात्राका अवसरमा आयोजित ’दस बर्षमा दस इभेन्ट’ अन्तर्गत खजुराको गौघाटमा ग्रीन रन आयोजना गरिएको हो ।

दौडमा पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गर्ने खेलाडीलाई नगद पाँच हजार, तीन हजार र दुई हजार, ट्रफीले पुरस्कृत गरियो । 

लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री, समाजसेवी कृष्णमान श्रेष्ठ, वडा सदस्य लक्ष्य बहादुर ओली, नेपालगन्ज म्याराथनका रेस डाइरेक्टर चन्द्र गुरुङ, आउटरिच म्यानेजर चाहना शाह, लुम्बिनी खेलकुद परिषदका सदस्य डिबी तामाङले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरे ।

जलवायु परिवर्तनका कारण पर्यावरणमा देखिएको विश्वव्यापी संकटका बारेमा विद्यार्थीलाई दौडमार्फत जागरण फैलाउन दौड आयोजना गरिएको नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले जानकारी दिए ।

’फिल द ग्रिन इन यु’ नारा सहित भएको ग्रीन रनको उदघाटन गर्दै प्रदेश सभा सदस्य रत्न खत्रीले विद्यार्थीमाझ जान ग्रीन रन रचनात्मक कार्य भएको बताउँदै प्रदेश खेलकुद परिषद्ले फरक खालको दौड प्रतियोगितालाई बार्षिक क्यालेन्डरमा समावेश गरि निरन्तरताको आधार तयार गर्ने प्रतिबद्धता जनाए ।

नेपालगञ्ज म्याराथनको दस बर्षमा दस इभेन्ट अन्तर्गत असोज ३ गते नेपालमा पहिलोपटक रात्री दौड नेपालगञ्ज १० के, राप्तीसोनारी रन आयोजना गरिसकेको छ ।

प्रतिक्रिया