Listen LIVE

देशविदेशमा चिकित्सक दिन कर्णाली सक्षम

जुम्ला : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले पहिलो ब्याचका १८ जना एमबिबिएस डाक्टर उत्तीर्ण गराएको छ । प्रतिष्ठानको प्रकाशित नतिजा अनुसार पहिलो ब्याचका २० जनामध्ये १८ जना एमबिबिएस उत्तीर्ण भएका हुन् । 

कुनै समय डाक्टर नपाएर सर्वसाधारणको मृत्यु हुने कर्णाली अब आफ्नै ठाउँमा डाक्टर उत्पादन गरेर देशविदेशसम्म पु¥याउन सक्ने भएको छ ।

कर्णाली प्रतिष्ठानका नवनियुक्त उपकुलपति डा. सूर्यमान मेन्याङ्म्बोका अनुसार पहिलो ब्याच डाक्टर उत्पादन गर्न सक्षम हुनु कर्णाली र राज्यका लागि पनि खुसीको खबर हो । उनले हिमाली क्षेत्रको जुम्लामा स्थापित प्रतिष्ठानले अब देशविदेशलाई डाक्टरको जनशक्ति दिन पाउनु गौरवपूर्ण क्षण भएको बताए ।

उनका अनुसार एमबिबिएस डाक्टरले केही महिना जुम्लामा इन्टर्नसिप गर्ने छन् । उनले अहिले जुम्लामा डाक्टर पढ्न नेपाली मात्र होइन, भारतबाट पनि आउन थालेकाले सरकारसँग आगामी वर्षमा एमबिबिएस सिट थपका लागि माग गरिने बताए । 

प्रतिष्ठानका सहायक प्राध्यापक लोकजन सिंहका अनुसार कर्णाली प्रतिष्ठानमा अब छैटौँ ब्याच चलिरहेको छ । पहिलो ब्याचमा २० जना, दोस्रो र तेस्रो ३०/३० जना, चौथो, पाँचौँ र छैटौँ ब्याचमा ५० जनाका दरले गरी हालसम्म २३० जना एमबिबिएस अध्ययन गरिरहेका छन् । २०७८ साल मङ्सिर २६ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लामा एमबिबिएस कक्षाको औपचारिक उदघाटन गरेकी थिइन् । 

कर्णाली स्वास्थ्य स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका संस्थापक तथा पहलकर्ता एवं संविधान सभा सदस्य नरेश भण्डारीले हिजो डाक्टर नपाउने जुम्ला आज डाक्टर उत्पादन गरी देशविदेश पठाउन तयार भएको बताए । नागरिक समाज जुम्लाका अध्यक्ष राजबहादुर महतले कर्णाली प्रतिष्ठान कर्णालीलाई समृद्धिको बाटोमा लैजाने ठुलो आयाम भएको बताए । 

एमबिबिएस दोस्रो ब्याच अध्ययनरत सिराहाकी नुरुजहाँ खातुनलाई पनि जुम्लामा यस्तो कलेज र पढाइ होला भन्ने थाहा थिएन । कर्णाली प्रतिष्ठानमा एमबिबिएस पढ्ने अवसर पाउनु नै उनी ठुलो अहोभाग्य सम्झिछिन् । जुम्लामा डाक्टर पढ्न पाउनु नै उनी आफूलाई भाग्यमानी ठान्छिन् । 'तराईबाट हेर्दा अर्कै लाग्थ्यो, सुरुमा आउँदा के होला ? कसरी अगाडि बढ्ने होला भन्ने थियो,' उनले भनिन, 'यति सुन्दर जुम्लामा सुन्दर डाक्टर बन्ने सपना पूरा भएको छ ।' 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट पहिलो ब्याच एमबिबिएस अध्ययन सकाएका रुपन्देही बुटवलका समीरराज जोशी तराईको मान्छे कर्णाली आएर अध्ययन गर्न पाउँदा खुशी लागेको बताए । यहाँ पूर्वाधार र सडकको अवस्थामा भने धेरै नै सुधार गर्नुपर्ने आवश्यकता भएकाले राज्यले पहिलो प्राथमिकता दिनुपर्ने पनि उनले बताए ।

प्रतिक्रिया