Listen LIVE

पञ्चेबाजाको संरक्षण गर्दै स्थानीय महिला

नेपालगञ्ज डेस्क : लोप हुन लागेको पञ्चेबाजा संरक्षणका लागि गुल्मीमा पछिल्लो समय महिला समूह बनाएर प्रशिक्षण दिने कार्यलाई तीव्रता दिइएको छ । यस जिल्लाका स्थानीय तहले मौलिक संस्कृति संरक्षण गर्नका लागि महिलाहरुको व्यावसायिक रुपमा आयआर्जनसंगै पञ्चेबाजा हस्तान्तरण र संरक्षणका लागि तालिम समेत प्रदान गरेका छन् । 

यस जिल्लाको धुर्कोट गाउँपालिकाले मौलिक संस्कृतिको संरक्षणसंगै पञ्चेबाजाको माध्यमबाट आयआर्यनमा समेत टेवा पुगोस् भन्ने उदेश्यसहित तीन वडामा दशदश दिनको तालिम प्रदान गरेको छ । गाउँपालिकाले विद्यार्थीहरु र स्थानीय महिलाहरुलाई संस्कृत संरक्षणमा लाग्नका लागि तालिम प्रदान गरेको बताइएको छ । यस गाउँपालिकाको वडा नम्बर–७, वाग्लाकी दीपा परियारले यहाँ दश दिनसम्म पञ्चेबाजा बजाउन सिकिएको भन्दै व्यवसायिक रुपमा लैजाने बताइन् । 

“दश दिन मात्र पञ्चेबाजा बजाउने तालिम अपुग हुन्छ । यो बाजा धेरै किसिमबाट बजाउन सकिन्छ ।” उनले भनिन, “आगामी दिनमा दश दिन मात्र नभएर तालिम अवधि बढाउनुपर्छ । सबै दिदिबहिनी एकजुट भएर पञ्चेबाजा बजाउन सकिन्छ ।” यो तालिमले पञ्चेबाजा संरक्षणसंगै व्यवसायिक बन्न थप टेवा पुर्र्याउने तालिममा सहभागी परियारले बताइन् । 

वाग्लाकै तुल्सा परियार त्यहाँको महिला समूहमा रहेर सनाही बजाउँछिन् । उनले गाउँपालिका पञ्चेबाजा संरक्षणसंगै महिलाहरुलाई पनि पञ्चेबाजा बजाउने सीप सिकाउन लागेको भन्दै अत्यन्तै खुसी भएको बताइन् । लोप हुन लागेको पञ्चेबाजाको संरक्षणसंगै महिलालाई व्यवसायिक रुपमा आयआर्जनमा लाग्न हौसला प्रदान गरेको बताए । मौलिक संस्कृति संरक्षण गर्नका लागि महिला समूहले निरन्तरता दिने उनको भनाइ छ । 

पञ्चेबाजा नयाँ युवा पुस्तामा हस्तान्तरण र संरक्षण गर्ने उदेश्यसहित यस गाउँपालिकाले केही समय पहिले वडा नम्बर–१, स्थित नयाँगाउँ माध्यमिक विद्यालयमा दश दिनसम्म कक्षा ६ र ७ मा अध्ययरत विद्यार्थी र यहाँका जनजाति महिलालाई तालिम प्रदान गरेको थियो । वडा नम्बर–३, हाडहाडेका जनजाति महिलाहरुलाई पनि दश दिनसम्म पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । 

त्यस धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले मौलिक संस्कृति संरक्षणमा विशेष जोड दिएको बताए । विभिन्न चाडपर्व र धार्मिक परम्परा अनुसार घरमा हुने खुसियाली विवाह तथा व्रतबन्धलगायतका विभिन्न पुजाआजामा बजाइने पञ्चेबाजा संरक्षणका लागि यस गाउँपालिकाका १,३ र ७ गरी तीन वडाका महिला समूहलाई तालिम प्रदान गरिएको बताए । “पछिल्लो समय पुरुषहरु विभिन्न पेशा व्यवसाय र रोजगारीका लागि गाउँ छाड्ने र विगतमा दलित समुदायले मात्र पञ्चेबाजा बजाउनुपर्छ भन्ने मान्यता रहेको थियो ।” उनले भने, “पञ्चेबाजा संरक्षणमा सबै जातजाति लाग्नुपर्छ । महिला समूह र समुदायबाट गाउँमा बस्ने महिलालाई पञ्चेबाजा संरक्षणका लागि तालिम प्रदान गर्नुपर्ने माग आएको थियो ।” 

पछिल्लो समय महिलाद्वारा बजाइने पञ्चेबाजालाई धेरै ठाउँबाट माग आएसंगै आकर्षण समेत बढेको भन्दै महिलाहरु संस्कृति संरक्षणसंगै आयआर्जन र स्वावलम्बन बन्ने उदेश्यसहित पञ्चेबाजा बजाउने तालिम प्रदान गरिएको गाउँपालिका अध्यक्ष पोखरेलले बताए । पञ्चेबाजालाई पुस्ता हस्तान्तरण र संरक्षण गर्नुका साथै व्यावसायिक बनाउने उनको भनाइ छ ।

प्रतिक्रिया