Listen LIVE

एक किलो अफिमसहित बाँकेमा दुई जना पक्राउ

कोहलपुर (बाँके) : बाँकेमा लागूऔषध कारोबारविरुद्धको कारबाहीमा प्रहरीले ठूलो परिमाणको अफिमसहित दुई जनालाई पक्राउ गरेको छ ।

मंगलबार राति करिब १० बजे विशेष सूचनाका आधारमा   लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगञ्ज  र इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको टोलीले कोहलपुर नगरपालिका–१ कौशिलानगरस्थित बरपिपल प्रतिक्षालयबाट वैजनाथ गाउँपालिका–३ नौवस्ताका २९ वर्षीय विशाल थापा मगरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

बाँके प्रहरीका अनुसार विशालको शरीर खानतलासी गर्दा रातो रङको प्लास्टिकभित्र लुकाई राखेको अवस्थामा १ किलो २०० ग्रामअफिम बरामद गरेको हो । साथै उनको साथबाट एक थान मोबाइल पनि बरामद गरिएको छ ।

प्रारम्भिक सोधपुछका क्रममा बरामद अफिम कारोबारमा कोहलपुर नगरपालिका–१ कौशिलानगरका ४८ वर्षीय गगन बहादुर परियारको समेत संलग्नता रहेको खुलेपछि टोलीले उनलाई पनि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । परियारको साथबाट समेत एक थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ ।

बरामद अफिम, मोबाइल र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरको राखेर थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रहरीका अनुसार ठूलो परिमाणमा अफिम बरामद हुनु बाँकेमा सक्रिय लागूऔषध सञ्जालविरुद्धको महत्वपूर्ण सफलता मानिएको छ ।

प्रतिक्रिया