नेपालगञ्ज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता बादीले बाँके जिल्लास्थित बाल सुधारगृहको स्थलगत अनुगमन गरी त्यहाँको समग्र अवस्था अवस्थाबारे जानकारी लिएकी छन् ।
मन्त्री बादीको सचिवालयले दिएको जानकारी अनुसार पश्चिम नेपालको भ्रमणको क्रममा बाँके पुगेको बेला त्यहाँ रहेका बैजनाथको नौबस्ता बाल सुधार गृह र डुडुवाको जयन्दु बालसुधार गृहको स्थलगत अनुगमन गर्दै त्यहाँ रहेका बालबालिकाको अवस्था, आवश्यकता तथा उनीहरूले भोगिरहेका समस्या र चुनौतीबारे प्रत्यक्ष जानकारी लिएकी हुन् ।
अनुगमनको क्रममा बैजनाथ गाउँपालिकास्थित नौबस्ता बाल सुधारगृह पुगेकी मन्त्री बादीले बालसुधार गृहका सबै कोठामा पुगेर कोठाहरूको अवस्था, उनीहरूको बसाइ, ओछ्यानदेखि खानपिनसम्मको सबै व्यवस्था र शौचालय तथा उपलब्ध सेवा तथा सुरक्षाको बारेमा जानकारी लिएको नौबस्ता सुधारगृहका प्रमुख श्यामबहादुर रानाले बताए ।
मन्त्रीले त्यहाँ रहेका बालबन्दीसँग संवाद गरेर उनीहरूको अवस्था र समस्याबारे सोधपुछ गर्नुका साथै बालसुधार गृहमा विभिन्न प्रकारका सिपमूलक तालिमको व्यवस्था गर्ने योजना रहेको उनले सुनाए ।
बालबन्दीलाई जति धेरै व्यस्त राख्न सकिन्छ त्यति नै उनीहरूको सुधारका लागि सकारात्मक हुने पनि सो अवसरमा मन्त्री बादीले जनाएको बाल सुधारगृहका प्रमुख रानाले बताए । यस्तै मन्त्री बादीले डुडुवा गाउँपालिकामा रहेको जयन्दु बाल सुधारगृहमा पुगेर त्यहाँको अवस्थाबारे जानकारी लिइन् ।
जेनजी आन्दोलनको समयमा गत भदौ २४ गते नौबस्ता बालसुधार गृहबाट भागेका ७८ जना मध्ये ३३ जना बालबन्दी अझै पनि पक्राउ परेका छ्रैनन् । प्रहरीले खोजबिन गरिरहेको जनाउँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार