जुम्ला : जुम्लाका किसान पछिल्लो समय धानखेती छोडेर व्यावसायिक तरकारी खेतीमा आकर्षित भएका छन् ।
धानखेतीमा लागत र समय बढी लाग्ने, उत्पादन कम हुने भएपछि धान खेती छोडेर किसान व्यावसायिक तरकारी खेती तर्फ आकर्षित भएका हुन् ।
तातोपानी गाउँपालिका वडा न–५ श्रीनगरका महिलाहरू धान खेती छोडेर सामूहिकरूपमा व्यावसायिक मौसमी तथा बेमौसमी तरकारी खेती गर्दै आएका छन् । वर्षमा दुई बोरा धान र दुई बोरा जौ मात्रै उत्पादन हुने दुई भारी खेतमा तरकारी खेती गरेर वार्षिक एक लाखभन्दा बढी आम्दानीसमेत गर्दै आएका छन् ।
धान खेतीभन्दा तरकारी खेतीबाट फाइदा भएको तातोपानी–५ की विजुली डाँगी बताउँछिन् । विगत १८ वर्षदेखि तरकारी खेती गर्दै आएकी विजुली धान फल्ने खेतमा तरकारी खेती गर्दा उत्पादन र आम्दानी सन्तोषजनक रहेको अनुभव सुनाउँछिन् । उनले भनिन, ‘विगतमा दुई भारी खेतमा २ बोरा ५० किलोको धान फल्थ्यो । तर अहिले सोही खेतमा मौसमी तथा बेमौसमी खेती गर्दा वार्षिकरूपमा एक लाखभन्दा बढी आम्दानी भइरहेको छ । भने नियमितरूपमा हरियो सागपात खाने बानीको विकास पनि भएको छ ।’
१८ वर्षदेखि तरकारी खेती गर्दै आएपनि गत आर्थिक वर्ष २०८१–०८२ बाट तातोपानी गाउँपालिकाको पहलमा सहयात्रा तेस्रो परियोजनाबाट तरकारी खेतीबाट सिप र प्रविधि पाएपछि थप सहज भएको अर्की महिला किसान धर्मा डाँगीले बताइन् ।
व्यावसायिक तरकारी खेतीले पोषण स्थितिमा सुधार हुनुका साथै घर खर्च व्यवस्थापन तथा छोरा छोरीको पठन पाठनमा समेत राहत पुगेको बुढाले उल्लेख गरिन् । धर्मा डाँगी र विजुली डाँगी जस्तै तातोपानी–५ का २५ जना महिला समूह बनाएर व्यावसायिक तरकारी खेतीमा जुटेका छन् । प्रत्येक महिलाले वर्षमा तरकारी बेचेर १ लाखदेखि माथि आम्दानी गर्दै आएका छन् ।
२५ जना महिलाले आफ्नो जग्गासँगै अपुग भएको जग्गा लिजमा लिएर तरकारी खेती गरेका छन् । किर्डाकद्वारा सञ्चालित सहयात्रा तेस्रो परियोजनाले महिला किसानलाई खेती प्रविधिबारे, रोग किरा नियन्त्रण, बजारीकरणबारे वित्तीय साक्षरता लगायतको सिप प्रदान गरेको छ ।
यद्यपि तरकारी उत्पादन धेरै हुने भएपनि सङ्कलन केन्द्र र बजारीकरणको अभावले समस्या भएको किसानले गुनासो पोखेका छन् । सिजनमा प्याज, टमाटर, आलु, काउली, बन्दा जस्ता तरकारी अत्यधिक उत्पादन हुने तर सङ्कलन केन्द्र नभएका कारण सस्तो मूल्यमा विक्री गर्न बाध्य रहेको किसानको गुनासो छ ।
दैनिक डोकोमा बोकेर बजारका कुना कुनामा पुगेर विक्री गर्नुपर्ने बाध्यता रहेकाले सङ्कलन केन्द्र स्थापना र कृषि एम्बुलेन्स व्यवस्थापन गरिदिन समेत माग गरेका छन् । यता तरकारी खेतीको अनुगमनमा पुगेका तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले उत्पादित तरकारी बजारीकरण तथा सङ्कलन केन्द्र निर्माणमा पालिकाले सघाउने बताए ।
उनले भने, ‘तपाईँहरू उत्पादन गर्नुहोस् । सिँचाई व्यवस्थापन, सङ्कलन केन्द्र र बजारीकरणको जिम्मा गाउँपालिकाले लिन्छ । हामीले चालु आवमै वडामा सानो लगानीको सङ्कलन केन्द्र स्थापना गर्ने योजना बनाएका छौ । बाह्रै महिना तरकारी खेतीलाई निरन्तरता दिनुहोस् । पालिका सधैँ किसानको साथमा छ ।’
साथै चालु आर्थिक वर्षमै व्यावसायिकरूपमा तरकारी खेती गर्ने उद्यमशीलता गर्ने युवा, व्यवसायी तथा किसानलाई ५ लाखदेखि ३५ लाखसम्मको सहुलियत ऋणको समेत व्यवस्थापन गर्ने तयारीमा रहेको उल्लेख गरे । धान खेतीलाई पनि संरक्षणसँगै व्यावसायिक तरकारी खेती अघि बढाउनसमेत सुझाव दिएका छन् । तर धान खेतीमा लगानी बढी उत्पादन कम हुँदा किसान तरकारी खेतीका आकर्षित भएकाले सोही अनुसारका कृषि कार्यक्रम पालिकाले ल्याउने जानकारी दिए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार