खजुरा (बाँके) : बाँकेको खजुरा गाउँपालिकास्थित जनता दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आफ्ना किसानहरुलाई अनुदान स्वरूप चेक प्रदान गरेको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र नेपालगञ्जको आर्थिक वर्ष २०८१।०८२ को प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कृषक सहयोग कार्यक्रम अन्तर्गत प्राप्त ७ लाख ६२ हजार ९०८ रुपैयाँ कृषकहरुलाई उत्पादनको आधारमा वितरण गरिएको हो ।
प्रति लिटर १ रुपैयाँका दरले दूध बिक्री गर्ने कृषकलाई सहकारीले शुक्रबार एक कार्यक्रमको आयोजना गरी चेक प्रदान गरेको हो । जनता दुग्ध उत्पादक सहकारी संस्था खजुरामा कारोबार गर्ने ३८० जना कृषकलाई प्रोत्साहन अनुदान प्रदान गरिएको संस्थाका व्यवस्थापक गौरब सापकोटाले जानकारी दिए ।
कार्यक्रममा खजुरा गाउँपालिकाका प्रमुख डम्बर बहादुर विकले खजुराका किसान व्यावसायिक बन्दा दूधमा आत्मनिर्भर बन्न सकिएको बताए । प्रमुख विकले उत्पादन गर्ने कृषकलाई अनुदान दिने सरकारको नीतिअनुरूप पालिकाले पनि सहयोगका कार्यक्रम सञ्चालन गरेको उल्लेख गरे ।
खजुरा गाउँपालिकाकी उपाध्यक्ष मन्जु मल्लले पशुपालक किसानलाई दुग्ध उत्पादन गर्न गरिएको प्रोत्साहन कार्यक्रम प्रभाबकारी रहेको बताइन् । उपस्थित कृषकलाई पालिकामा हुने कार्यक्रममा पनि सक्रिय सहभागिता जनाउन उनले अनुरोध गरिन् । कृषकको आर्थिक विकासमा पालिकाले पनि लगानी गरिरहेको भन्दै उनले लाभ उठाउन सकिने बताइन् ।
भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बाँकेकी प्रमुख कमला अधिकारीले प्रदेश सरकारले हरेक वर्ष जस्तै यस पटक पनि प्रतिफलमा आधारित कृषकलाई अघि बढाउने गरी अनुदानका कार्यक्रम ल्याएको उल्लेख गरिन् । प्रमुख अधिकारीले सहकारी मार्फत दुग्ध उत्पादक कृषकलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताइन् । काम गर्ने कृषकलाई कार्यालयले सधैं सहयोग गर्ने उनले उल्लेख गरिन् ।
कार्यक्रममा संस्थाका अध्यक्ष भीम बहादुर बरुवालले प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमले कृषकलाई थप दुग्ध उत्पादन गर्न मद्दत गरेको बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार