बर्दिया : बर्दियामा लोप हुने अवस्थामा पुगेको परम्परागत तथा सुगन्धित 'काला नमक' धानको संरक्षण र प्रवर्धनका लागि ठाकुरबाबा नगरपालिकामा सामूहिक खेती सुरु गरिएको छ ।
ठाकुरबाबा नगरपालिका–१, सिंहबाहिनी गाउँका कृषकले सिंहबाहिनी शिवशक्ति कृषक बहुउद्देश्यीय सहकारी संस्थामार्फत ११ बिघा क्षेत्रफलमा काला नमक धानको व्यावसायिक खेती सुरु गरेका हुन् ।
सहकारीमा आबद्ध एक हजार पाँच जना साधारण सदस्यको सहभागितामा सुरु गरिएको खेतीले लोपोन्मुख स्थानीय जातको धान संरक्षणसँगै कृषकको आयआर्जनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ ।
सहकारीका अध्यक्ष युवराज शर्माका अनुसार खेतीको अवस्था उत्साहजनक देखिएको छ । उनले काला नमक धानको उत्पादन विस्तार गर्दै यसको संरक्षणलाई दीर्घकालीन अभियानका रूपमा अघि बढाइने बताए ।
कृषकका अनुसार काला नमक धानको उत्पादन अन्य उन्नत जातका धानको तुलनामा कम हुन्छ । प्रतिकट्ठा करिब एक क्विन्टल उत्पादन हुने यस धानको उत्पादन कम हुने भएकै कारण विगत केही वर्षदेखि कृषकले यसको खेती घटाउँदै लगेका थिए । त्यसपछि बर्दियामा यसको उत्पादन झन्डै लोप हुने अवस्थामा पुगेको थियो ।
ठाकुरबाबा नगरपालिका–४, बौनपुरका कृषक भक्त विष्टले सामूहिकरूपमा खेती गर्दा स्थानीय जातको धान संरक्षण गर्न सहज हुने बताए । उनका अनुसार काला नमक धान केवल आर्थिक उत्पादन मात्र नभई स्थानीय कृषि सम्पदाको संरक्षणसँग पनि जोडिएको विषय हो ।
एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय बर्दियाका सूचना अधिकारी फिर्तुमान चौधरीका अनुसार बर्दियाका आठ स्थानीय तहमध्ये हाल ठाकुरबाबा नगरपालिकामा मात्रै काला नमक धानको खेती भइरहेको छ ।
केही वर्षअघि राजापुर नगरपालिका, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकासहित जिल्लाका विभिन्न क्षेत्रमा काला नमक धान उत्पादन हुने गरे पनि पछिल्लो समय यसको खेती थिएन ।
काला नमक धान लुम्बिनी प्रदेशका बर्दिया, बाँके, दाङ र कपिलवस्तु जिल्लामा परम्परागत रूपमा उत्पादन हुँदै आएको स्थानीय तथा सुगन्धित धानको जात हो । पछिल्ला वर्षमा यसको खेती घट्दै गएपछि संरक्षणको आवश्यकता महसुस हुँदै आएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार