काठमाण्डौ : पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गर्दै समूह ‘ए’ मा दोस्रो जित दर्ता गरेको छ।
पाकिस्तानको लागि साहिबजादा फर्हानले ७३ रन बनाउँदै अमेरिकामाथि फराकिलो जितमा मुख्य भूमिका निर्वाह गरे।
समूहमा पाकिस्तान शीर्ष स्थानमा छ, जबकि भारत र नेदरल्यान्ड्सको समान १–१ जित रहेको छ।
आईसीसी टी–२० विश्वकप अन्तर्गत समूह ‘ए’ मा पाकिस्तानले लगातार दोस्रो खेलमा जित निकालेको छ। पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको हो।
मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो। जवाफमा अमेरिका १ सय ५८ रन मात्र जोड्न सफल भएपछि पाकिस्तानले फराकिलो जित निकालेको हो।
अमेरिकाका लागि शुभम रनजनीले ५१ रनको अर्धशतकीय इनिङ खेले भने मिलिन्द कुमारले २९ रन बनाए। त्यस्तै सयन जहाँगिरले ४९ रन र एन्ड्रेस गौसले १३ रन बनाए।
त्यसअघि कोलम्बोस्थित सिनहलेस स्पोट्र्स क्लबको मैदानमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो। उसका लागि साहिबजादा फर्हानले ७३ रन बनाउँदा बाबर आजमले ४६ रन जोडे। त्यस्तै सदाब खानले ३० रन बनाउँदा साइम अयुबले १९ रन बनाए।
समूहमा पाकिस्तान २ जितसहित तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा छ। भारत र नेदरल्यान्ड्सको समान १–१ जित रहेको छ।
प्रतियोगितामा आज पनि तीन खेल हुँदै छन्। दिनको पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान अहमदाबादमा भिड्दा अस्ट्रेलियाले आयरल्यान्डसँग भिड्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यस्तै अर्को खेलमा नेपालको समूहमा रहेको इंग्ल्यान्ड र वेस्टइन्डिजबीच साँझ ७ः१५ बजे वानखेडे मैदानमा प्रतिस्पर्धा हुनेछ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार