Listen LIVE

सखरखण्ड खेतीबाट राम्रो आम्दानी लिँदै बाँकेका किसान

यदुराज मिश्र/नेपालगञ्ज : माघे सङ्क्रान्ति नजिकिँदै गर्दा बजारमा सखरखण्डको व्यापार बढ्दै गएको छ । माघे सङ्क्रान्तिमा सखरखण्ड खाने चलन रहेकाले राम्रो बिक्री हुने समेत गरेको छ ।

माघे सङ्क्रान्ति पर्व नजिकिँदै गर्दा सखरखण्ड खेती गर्ने किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्यानभ्याई रहेको छ । बाँकेको राप्ती नदी उकास जमिनमा सखरखण्ड खेती गर्ने किसान अहिले रोपेको सखरखण्ड खन्ने र बिक्री गर्ने काममा व्यस्त रहेको किसान मन्शाराम यादव बताउँछन् ।

समयमै खनेर बजारमा पुर्याउन सके राम्रो मुनाफा हुने भएकाले किसान सखरखण्ड खन्दै बिक्री गर्ने काम गरिरहेको उनले बताए । राप्तीनदीको बगरमा सखरखण्ड खेती गरेका यादवले एक बिघा जमिनमा रोपेको करिब ३५ क्विन्टल सखरखण्ड बिक्री गरिसकेको बताए । बाँकी दुई बिघा जमिनमा रोपेको सखरखण्ड खन्ने काम भइरहेको भन्दै उनले भने, ‘‘खन्न सके सखरखण्ड लिनका लागि व्यापारी रोपेको ठाउँमा आउने गरेका छन्, बिक्रीका लागि समस्या छैन । व्यापारीलाई भनेको समयमा दिन सक्नु पर्छ ।’’

करिब डेढ लाख रुपैयाँको सखरखण्ड बिक्री गरी सकेका यादवले यो वर्ष १०० क्विन्टल बढी उत्पादन भए तीन लाख ५० हजारसम्मको बिक्री हुने बताउँछन् । उनका अनुसार सेतो सखरखण्ड प्रतिकिलो ४० देखि ४५ रुपैयाँ र रातो सखरखण्ड ४५ देखि ४९ रुपैयाँमा बिक्री भइरहेको छ । अन्य कृषि बालीको तुलनामा कम मिहिनेत र लगानीमै राम्रो आम्दानी लिन सकिने भएपछि धेरै किसानले पछिल्लो समय सखरखण्ड खेती गर्ने गरेको अर्का किसान रामराजको भनाई छ ।

१६ कट्ठा जमिनमा सखरखण्ड खेती गरेका रामराजले करिब ६० क्विन्टल सखरखण्ड उत्पादन भएको बताउँछन् । जसबाट करिब दुई लाखसम्म आम्दानी भएको उनले बताए । 

बाँकेमा उत्पादन भएको सखरखण्ड नेपालगञ्ज बजारका साथै कोहलपुर, खजुरा र सुर्खेतसम्म पुग्ने गरेको किसान रामराजले बताए । अन्य तरकारीजन्य उत्पादन बजारसम्म लैजानु पर्ने बाध्यता भएपनि सखरखण्ड बारीबाटै बिक्री हुने भएकाले किसानलाई खेती गर्न सहज हुने गरेको छ ।

प्रतिक्रिया