Listen LIVE

प्रतिकेजी चार रुपैयाँमै गोलभेँडा

सर्लाही : सर्लाहीका किसानलाई आफूले उत्पादन गरेको गोलभेँडा बिक्री नभएर समस्या पर्न थालेको छ । 

यहाँका किसानले गोलभेँडा मुस्किलले प्रतिकेजी चारदेखि पाँच रुपियाँमा बिक्री गरिरहेका छन् । यो मूल्यमा गोलभेँडा बिक्री गर्दा टिप्ने मानिसको ज्याला र बजारसम्म ढुवानी गर्दा लाग्ने खर्चसमेत नउठ्ने किसानको गुनासो छ । अघिल्ला वर्ष सुरुमा र अन्तिममा फलाएको गोलभेँडाले राम्रो मूल्य पाउने गरेको भए पनि यस वर्ष सिजनको अन्तिममा गोलभेँडाको भाउ झनै खस्किएको किसानले बताएका छन् । 

लालबन्दी नगरपालिका–१०, हिरापुरका किसान रामदास रायले हाइब्रिड अर्थात् ठुलो गोलभेँडा प्रतिक्रेट एक सयदेखि १५० रुपैयाँ र लोकल अर्थात् सानो गोलभेँडा प्रतिक्रेट १५० देखि २५० रुपैयाँसम्ममा बिक्री भइरहेको बताए । 

एक सय रुपैयाँ क्रेटमै भए पनि व्यापारीले गोलभेँडा खरिद नगरिदिँदा किसान निरास भएर घर फर्किनुको विकल्प नरहेको रायले गुनासो गरे । “अघिल्ला वर्ष त सिजनको अन्तिमतिर गोलभेँडाको राम्रो भाउ आउँथ्यो तर यस वर्ष चार रुपैयाँ किलोमा बेच्न पनि हम्मे हम्मे परेको छ,” रायले भने, “किसानको यो अवस्था आउँदासमेत कसैले चासो दिएका छैनन् ।” 

किसानले गोलभेँडामा दिनहुँ महँगो कीटनाशक विषादी प्रयोग गर्नुपर्ने अवस्था रहेको गुनासो गरेका छन् । लालबन्दी थोक तरकारी बजारका व्यापारी मोहम्मद उस्मानले किसानबाट खरिद गरेको गोलभेँडा आफूहरूले ठुला सहर, बजारमा लगेर बिक्री गर्नै नसकेको बताए । अहिले जताततै गोलभेँडा उत्पादन भइरहेकाले बिक्री नहुने समस्या रहेको उनले बताए । 

“हामीले यहाँ किसानसँग किनेको गोलभेँडा अन्यत्र लगेर बेच्दा बिक्री नै भइरहेको छैन्,” उनले भने, “अत्यधिक गोलभेँडा उत्पादन भएकाले यस्तो समस्या आएको हो ।” 

तत्कालै बिक्री नभए नष्ट भएर जाने भएकाले यहाँका व्यापारी किसानसँग ठुलो परिमाणमा गोलभेँडा खरिद गर्न डराउने गरेका छन् । व्यापारीले गोलभेँडा खरिद नगर्दा कतिपय किसानको बारीमै गोलभेँडा नष्ट भएर गइरहेको छ । सर्लाहीको उत्तरी भेगका ईश्वरपुर, लालबन्दी, हरिवन र बागमती नगरपालिकाका किसानले व्यावसायिकरूपमा उत्पादन गरेको गोलभेँडा काठमाडौँका कालीमाटी र बल्खुसहित विभिन्न छिमेकी जिल्लाका बजारमा खपत हुने गरेको छ ।

प्रतिक्रिया