Listen LIVE

सुर्खेतको सहिद पार्कमा डेढ लाख पर्यटकद्वारा अवलोकन

सुर्खेत : वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको प्रादेशिक सहिद पार्क तथा वनस्पति उद्यान करिब डेढ लाख आन्तरिक पर्यटकले अवलोकन गरेका छन् । कर्णाली प्रदेश सरकारले भैरम सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र २०७७ सालमा सहिदको सम्झनामा पार्क निर्माण गरेको हो । पार्क निर्माण भएपछि बर्सेनि एक लाखभन्दा बढी आन्तरिक पर्यटक अवलोकन गर्न आउने गरेका छन् । 

आर्थिक वर्ष २०८२/८३ मा एक लाख ४० हजार तीन सय जना आन्तरिक पर्यटकले सहिद पार्कको अवलोकन गरेका थिए । यसबाट पार्कमा २८ लाख छ हजार रुपैयाँ आम्दानी भएको छ । त्यसअघिका आव २०८१/८२ मा पार्कको एक लाख ५७ हजार एक् सय जनाले अवलोकन गरेका थिए । त्यसबाट ३१ लाख ४२ हजार रुपैयाँ आम्दानी भएको थियो । पार्क अवलोकनका लागि प्रतिव्यक्ति २० रुपैयाँ शुल्क तोकिएको छ । 

पार्कमा सहिद स्तम्भ, ठुला तथा साना पाँच वटा पानीका फोहरा, बालबगैँचा, गुलाफको बगैँचा, बाघ, हात्तीका मूर्तिलगायत विभिन्न वनस्पतिका बोट छन् । घनाजङ्गलको बिचमा भएको पार्क प्रवेश गर्दा नै मनमा शान्ति महसुस हुने भएकाले आन्तरिक पर्यटकको रोजाइ पार्क पर्ने गरेको छ । 

पार्क अवलोकन गर्न आएका स्थानीय सुमन सारूले पार्कमा आउनासाथ प्राकृतिक सुन्दरताले मोहनी लगाउने गरेको बताउँछिन् । उनले यो पार्कमा अझै आकर्षक मूर्ति राख्न सके पर्यटकको आगमन अझ बढ्ने बताइन् ।

प्रतिक्रिया