नेपालगञ्ज : बाँकेको खजुरास्थित कुखुरा विकास फार्ममा पोल्ट्री म्युजियम बन्ने भएको छ । लुम्बिनी प्रदेश सरकारको तीन लाख लगानीमा पोल्ट्री म्युजियम बनाउने योजनामा काम गरिरहेको कुखुरा विकास फार्मका कार्यालय प्रमुख डा.सुमन खनालले जानकारी दिएका छन् ।
उनका अनुसार म्युजियममा फार्ममा भएका सबै प्रजातिका कुखुराको विकासक्रम, प्रजाति, उत्पादन प्रविधि र उक्त कुखुराको सम्पूर्ण जानकारी राखिने छ । ‘यो म्युजियमले विद्यार्थी, अनुसन्धानकर्ता र पोल्ट्री व्यवसायीलाई उपयोगी अध्ययन स्थलका रूपमा सहयोग गर्नेछ,’ उनले भने, ‘यसर्थ पनि हामी उक्त पोल्ट्री म्युजियमलाई लगत्तै सञ्चालन गर्ने तयारी गरिरहेका छौँ ।’
हाल म्युजियम निर्माणको प्रारम्भिक डिजाइन तयार पारिएको र आवश्यक उपकरण तथा सूचना सामग्री सङ्कलनको काम भइरहेको फर्मले जनाएको छ । स्थानीय समुदाय, किसान र व्यवसायीलाई समेत यस म्युजियमले पोल्ट्री उद्योगको महत्व र सम्भावनाबारे जानकारी दिने अपेक्षा गरिएको छ ।
कुखुरा विकास फार्मका कार्यालय प्रमुख डा.खनालका अनुसार, म्युजियम निर्माणसँगै खजुरा क्षेत्र पोल्ट्री व्यवसायको मोडल केन्द्रका रूपमा विकास हुनेछ । कुखुरा विकास फार्म खजुरामा सात प्रजातिका कुखुरा र अन्डा उत्पादन हुँदै आएको छ । जसमा घाँटी खुइले, प्वाँख उल्टे, साकिनी, ब्ल्याक अस्टलोप, न्यु हेम्पसार र कडकनाथ प्रजातिका कुखुरा छन् ।
यस कार्यालयले स्थानीय प्रजातिको कुखुराहरूको संरक्षण तथा अन्डा र चल्ला उत्पादन गरेर सुपथ मूल्यमा किसानलाई उपलब्ध गराउँदै आएको छ । कार्यालय प्रमुख डा.खनालले भने, ‘दुई महिना पूरा हुँदा हामीले १० लाख माथि राजस्व सङ्कलन गरेका छौँ । १० हजार जति चल्ला उत्पादन गरिसकेका छौँ ।’
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार