दाङ : केही वर्षअघिसम्म हिउँद लागेपछि निमुरियाका धेरै जसो घरमा कामको अभाव हुने गरेको थियो । खेतबारीमा काम नहुँदा गाउँका महिला खाली बस्न बाध्य हुन्थे भने युवा रोजगारीको खोजीमा टाढा जानुपर्ने अवस्था थियो ।
अहिले भने अवस्था बदलिएको छ । गाउँमै सञ्चालनमा आएको व्यावसायिक कृषि फार्मले स्थानीयलाई रोजगारी दिँदा घरव्यवहार चलाउन सहज बनेको घोराही उपमहानगरपालिका–२, निमुरिया निवासी मुना चौधरी बताउँछिन् । बिहानसाँझ घरको कामसँगै दिउँसोको समय कृषि फार्ममा काम गर्दै आएको उहाँको भनाइ छ । कृषि फार्ममा रोजगारी मिल्ने भएपछि पहिले जस्तो खाली बस्नुपर्ने अवस्था नरहेको भन्दै उनले भनिन, 'पहिले हिउँदमा काम नहुँदा घरमै बस्नु पथ्र्यो, कृषि फार्म खुलेपछि गाउँघरमै काम पाइनुका साथै आम्दानी पनि भइरहेको छ ।' उनले महिनामा १४/१५ हजार रुपियाँ कमाउने गरेको बताइन् ।
मुना जस्तै सोही ठाउँ निवासी देवा चौधरी पनि कृषि फार्ममा काम गर्दै आएकी छन् । उनले बिहान घरको काम सकेपछि कृषि फार्ममा काम गर्ने गरेको बताउनुभयो । उहाँले कृषि फार्ममा समय अनुसार विभिन्न तरकारी रोप्नेदेखि गोडमेल गर्नेदेखि मल राख्ने, फलेका तरकारी टिप्नेलगायतका काम गर्ने गरेको बताइन् । घरायसी कामसँगै कृषि फार्ममा काम गर्न पाउँदा महिनामा १५ हजारसम्म आम्दानी भइरहेको बताउँदै उनले भनिन, 'कामका लागि टाढा जानुपर्ने झन्झट छैन, गाउँमै काम पाइएको छ, आम्दानी पनि राम्रै भइरहेको छ । यो हाम्रा लागि राम्रो अवसर हो ।' गाउँघरमै रोजगारी प्राप्त भएपछि युवापुस्ता पनि कृषि क्षेत्रमा जोडिन थालेका छन् ।
रामपुरस्थित गङ्गा माध्यमिक विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुविन चौधरी पढाइबाट फुर्सद भएको समयमा कृषि फार्ममा काम गर्दै आएका छन् । गाउँमै काम पाइने भएपछि फुर्सदमा काम गर्ने गरेको भन्दै चौधरीले भने, 'फुर्सदमा काम गर्दा पढाइखर्च पनि जुट्ने गरेको छ ।'
निमुरियामा सञ्चालन भइरहेको सुवर्ण कृषि फार्म अहिले स्थानीय रोजगारीको केन्द्र बनेको छ । स्थानीय हरि जिसीले २०७५ सालमा दुई कट्ठा जमिनबाट सुरु गरेको तरकारी खेती अहिले विस्तार हुँदै १३ बिघा क्षेत्रफलमा पुगेको छ । आफ्नो एक बिघा र १२ बिघा भाडामा लिएर जिसीले व्यावसायिक तरकारी खेती गर्दै आएका छन् ।
सानैदेखि तरकारी खेतीप्रति भएको रुचिका कारण व्यावसायिक तरकारी खेतीमा लागेको भन्दै जिसीले भने, 'तरकारी खेतीबाट आम्दानी राम्रै छ, उत्पादन भएको तरकारी बिक्रीका लागि बजारमा पसल पनि गरेको छु । जसले गर्दा पसल र फार्म दुवैतिर रोजगारी मिलेको छ ।' जिसीले कृषि फार्ममार्फत वार्षिकरूपमा सिजन अनुसार टमाटर, बोडी, काँक्रा, काउलीलगायतका तरकारी खेती गर्दै आउनुभएको छ । व्यावसायिक कृषि फार्मको विस्तारसँगै गाउँमा आर्थिक गतिविधि बढेको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार