Listen LIVE

कोहलपुरमा अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता हुने

नेपालगञ्ज : कोहलपुर नगरपालिकामा पहिलो पटक अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता–२०८३ आयोजना हुने भएको छ । सामाजिक विकास डिभिजन कार्यालय बाँके को आयोजनामा जेठ १ गतेदेखि प्रथम प्रदेशसभा कप बाँके क्षेत्र नम्बर १ 'ख' अन्तरमावि अन्डर–१६ फुटबल प्रतियोगिता सञ्चालन हुन लागेको हो ।

शिक्षक महासंघ कोहलपुर नगरपालिकाका अध्यक्ष निमप्रकाश थापाका अनुसार प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ 'ख' अन्तर्गतका स्थानीय तहका विद्यालयमा अध्ययनरत १६ वर्षमुनिका खेलाडीले मात्र सहभागिता जनाउन पाउनेछन् ।

उनका अनुसार प्रदेशसभा सदस्य दुर्गाप्रसाद चौधरीको संसदीय विकास कोषबाट विनियोजित बजेटमार्फत प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा बाँके क्षेत्र नम्बर १ 'ख' अन्तर्गतका ३० भन्दा बढी विद्यालयको सहभागिता रहने आयोजकले जनाएको छ । सहभागी खेलाडीको जन्ममिति २०६७ वैशाख २८ गतेपछि र २०७० वैशाख २८ गतेअगाडि भएको हुनुपर्नेछ ।

२०८२ सालमा एसइई परीक्षा दिएका विद्यार्थीले पनि प्रतियोगितामा सहभागी हुन पाउने व्यवस्था गरिएको अध्यक्ष थापाले जानकारी दिए । जेठ १ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कृष्ण माध्यमिक विद्यालय तथा कोहलपुर नगरपालिका–२ स्थित गोरखा युनाइटेड पब्लिक स्कुलको खेलमैदानमा सञ्चालन गरिनेछन् ।

प्रतियोगितामा प्रथम हुने टोलीले पाँच लाख रुपैयाँ, द्वितीयले तीन लाख रुपैयाँ र तृतीयले दुई लाख रुपैयाँसहित मेडल र ट्रफी प्राप्त गर्नेछन् । प्रतियोगितामा सहभागी विद्यालयले निःशुल्करूपमा टिम दर्ता गर्न पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया