Listen LIVE

नेपालगञ्जको मूल सडकमै बसपार्क, आवागमनमा समस्या

नेपालगञ्ज : नेपालगञ्जबाट बर्दिया हुँदै सुदूरपश्चिम प्रदेश जाने विभिन्न साना–ठुला सवारी साधनहरुले नेपालगञ्जको धम्बोझी चोकदेखि पश्चिमको हुलाकी राजमार्गलाई नै बसपार्क बनाएका छन् । 

मुख्य राजमार्गलाई नै बसपार्क बनाइएपछि खजुरारोड भएर यात्रा गर्ने नीजि सवारी साधन तथा यात्रुहरुले दिनदिनै हैरानी ब्यहोर्न बाध्य भएका छन् । नेपालगञ्जमा सुबिधासम्पन्न बसपार्क सञ्चालनमा रहे पनि त्यहाँबाट निकै कम संख्यामा यातायात सञ्चालन हुने गरेका छन् । 

पश्चिम रुटका साना र मझौला सवारी साधनहरुले बनाएको बसपार्क जिल्ला प्रहरी कार्यालय बाँकेतर्फ जाने मुख्य सडकमै छ । हरेक दिन धम्बोझी चोकदेखि पश्चिमतर्फको सडकमा नै ट्राफिक अस्तब्यस्त हुनेगरी सवारीसाधन पार्किङ गरेर यात्रु बसाल्दा र झार्दा पनि त्यस प्रहरी मुकदर्शक बनेको स्थानीयले जनाएका छन् । 

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले धम्बोझी चोक नजिकको मुख्य बाटो र वाटरपार्कको गेट अगाडिको मुख्य सडकमै बसपार्क बनाएर यात्रु बसाल्दा र झार्दा समेत कसैलाई कुनै सरोकार नभएको बताए । 

उनले प्रहरी हस्तक्षेप हुँदा केही दिन हटाइए पनि फेरि त्यही ठाउँमा बसपार्क सञ्चालन गर्ने गरिएको बताए । नागरिक अगुवा हेमन्तराज काफ्लेले पनि खुला रुपमा सडकमै बसपार्क बनाउँदा पनि केही एक्सन नहुनु दुःखद भएको बताए । 

नेपालगञ्ज उपमहानगरका नगर प्रमुख प्रशान्त विष्टले नेपालगञ्ज बसपार्क बाहेक अन्यत्र कहिँकतै बसपार्क सञ्चालनको स्वीकृति नदिएको बताए । उनले यात्रु चढाउन र झार्नका लागि ५ मिनेट सवारी रोक्न दिनेगरी सहमति दिए पनि बसपार्ककै रुपमा सञ्चालन गर्न बसपार्क बाहेक अन्यत्र स्वीकृति नदिएको प्रष्ट पारे । 

नगर प्रमुख विष्टले अनाधिकृत रुपमा सडकमै बनाइएका बसपार्कलाई हटाएर वास्तविक बसपार्कबाट मात्र सवारी सञ्चालन गर्न लगाउन सुरक्षा निकायसँग आग्रह गरे ।

प्रतिक्रिया