Listen LIVE

थारुसमुदायको बरघरमा महिलाको आकर्षण बढ्दै

दाङ : माघ पर्व मनाएसँगै थारु समुदायमा परम्परागत रूपमा सञ्चालन हुँदैआएको मटाँवा, बरघर र भलमन्सा चयनलई तीव्रता दिइएको छ । गाउँको सामाजिक, न्यायिक, सांस्कृतिक तथा विकाससम्बन्धी नेतृत्व गर्दैआएको मटाँवा प्रथामा पछिल्ला वर्षहरूमा नयाँ पुस्ताको आकर्षण बढ्दैगएको छ ।

स्थानीय तह र प्रदेश सरकारले कानुनी मान्यता दिन थालेपछि मटाँवा, बरघर, भलमन्सा प्रक्रियामा यस वर्ष युवा र महिलाको उल्लेख्य सहभागिता देखिएको हो । माघको समयमा थारु समुदायले हरेक वर्ष माघी डेवानीमार्फत बितेको वर्षको समीक्षा र आगामी वर्षको कार्ययोजना तय गर्ने चलनअनुसार थारु गाउँमा मटाँवा, बरघर र भलमन्सा चयन गर्ने गरिन्छ । 

परम्परागतरूपमा पुरुषप्रधान मानिँदै आएको यो प्रथामा स्थानीय तह र प्रदेश सरकारले कानुनी मान्यता दिन थालेपछि यसको महत्व बढ्नुका साथै युवा र महिलाको सहभागिता पनि बढ्दै गएको छ । पुरुषहरूले मात्र सम्हाल्दै आएको जिम्मेवारी पछिल्ला वर्षहरूमा महिलाले पनि लिन थालेका छन् । तुलसीपुर ७ घुस्री गाउँमा कमला चौधरी र तुलसीपुर १० गौह्री गाउँमा मनकुमारी चौधरी मटाँवामा चयन भएकी छन् । 

यस्तै लमही नगरपालिका –२ सुनपुरमा सर्मिला चौधरी बरघरमा चयन भएकी छन् । लमही नगरपालिका –८ मा सीता चौधरी मटाँवामा चयन भइन् । “पहिला पुरुषले मात्र बरघर चलाउनुहुन्थ्यो, सर्मिलाले भनिन, “यस वर्ष मैले आफैँ सक्रिय भएँ, महिलालाई बरघर किन नबनाउने भनेपछि गाउँलेहरुले मलाई सुम्पिनुभयो ।” 

महिलामा कमला, मनकुमारी, सर्मिला र सीता मात्रै होइन, यो वर्ष ७ जना महिला मटाँवा, बरघर, भलमन्सामा चुनिनुभएको थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णबहादुर चौधरीले जानारी दिए । “पछिल्लो वर्षमा मटाँवा, बरघर र भलमन्सा नेतृत्वमा महिलाको संख्या बढेको छ, उनले भने, अझै केही गाउँमा चयन हुन बाँकी छ, मटाँवा, बरघरको नेतृत्व गर्नमा अझ महिलाको सङ्ख्या बढ्न सक्छ ।”

यस्तै, युवा पुस्तामा पनि मटाँवा, बरघरको आकर्षण बढ्दैगएको छ । यो वर्ष दाङको दंगिशरण गाउँपालिका –३ चखौरामा ३२ वर्षीय विनोद चौधरी मटाँवामा चयन भएका छन् । गाउँको नेतृत्व युवाले सम्हाल्नुपर्छ भन्ने साझा धारणाअनुसार आफूलाई जिम्मेवारी दिइएको उनले बताए । त्यस्तै, घोराही उपमहानगरपालिका –१० झारबौरा गाउँमा ३५ वर्षीय युवालाई मटाँवामा चयन गरिएको छ । 

स्थानीय मानवीर चौधरीका अनुसार युवाको सक्रियता, जोश र समसामयिक सोचका कारण गाउँलेहरूले युवामाथि भरोसा गरेका हुनाले आफूहरुले गाउँका ३५ वर्षीया जुद्धबहादुर चौधरीलाई मटाँवा चयन गरेको छ । थारु कल्याणकारिणी सभाको अनुसार अधिकांश गाउँमा युवाहरु मटाँवा चयन भएका छन् ।

पछिल्लो समय सबै क्षेत्रमा युवाको नेतृत्वको माग बढेकाले मटाँवा प्रथामा पनि युवाको चासो बढ्दै गएको सभाका कोषाध्यक्ष चौधरीले बताए । सभाका अनुसार दाङ जिल्लामा ४ सय ७५ थारु गाउँ छन् । यीमध्ये ४ सय २४ गाउँमा मटाँवा, बरघर र भलमन्सा प्रथा सञ्चालनमा छ ।

प्रतिक्रिया