Listen LIVE

कृषिको प्रयोगात्मक पढाइ शुरु भएपछि विद्यार्थी उत्साहित

नेपालगञ्ज : बाँकेको नरैनापुर–६ स्थित जयकिसान माध्यमिक विद्यालयमा प्राविधिक धारअन्तर्गत कृषिको बालीविज्ञान विषयमा पढाइ शुरु भएको छ । विद्यालयमा कृषिको बालीविज्ञान विषयमा कक्षा ११ र १२ को पढाइ शुरु भएपछि विद्यार्थीहरू उत्साहित भएका छन् ।

घरको आर्थिक अवस्था कमजोर भएकाले पढाइ रोक्ने अवस्था आएको बताउनु हुने नरैनापुर–६ का दुर्गेशकुमार मौर्यले पालिकाले गाउँमै प्राविधिक शिक्षा सुरु गरेपछि अध्ययनलाई निरन्तरता दिएको बताए । खेतीपातीमा आधारित परिवारमा हुर्किएका मौर्यले विद्यालयमा सिकेका कुरा घरमा अभिभावकलाई पनि सिकाउँदै आएको छ ।

पहिले कक्षा १० सम्म मात्र पढाइ हुने सो विद्यालयमा अब कक्षा १२ सम्मको प्राविधिक शिक्षाको व्यवस्था गरिएको छ । गाउँपालिकाका अध्यक्ष शैयद इस्तियाक अहमद शाहको पहलमा “जयकिसान नरैनापुर की शान, मेरी जान” भन्ने नारासहित कृषि शिक्षाको शुरुवात गरिएको हो ।

कक्षा १२ मा अध्ययनरत अनिस हलवाईले गाउँमै बसेर कृषिसम्बन्धी उच्चस्तरीय शिक्षा प्राप्त गर्न पाएकोमा खुशी व्यक्त गरे । विद्यालयकी शिक्षिका उषा विकका अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रको सहकार्यमा बाली विज्ञान विषय शुरु गरेपछि विद्यार्थीहरूको आकर्षण बढेको छ ।

बाली विज्ञान विषय शुरु गरिएपछि नरैनापुर र राप्ती सोनारी गाउँपालिकाका ग्रामीण क्षेत्रका विद्यार्थीलाई टाढा जान नपर्ने, पढाइ बिचमै नछाड्नुपर्ने अवस्था सिर्जना भएको पनि शिक्षिका विकले बताइन् ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज वलीले कृषि प्राविधिक उत्पादनमा दक्ष जनशक्ति उत्पादन गरेर आत्मनिर्भर बनाउने उद्देश्यसहित कक्षा सञ्चालन गरिएको बताए ।

गाउँपालिकाका शिक्षा शाखा प्रमुख कृष्ण थारुका अनुसार प्रारम्भमा ३६ विद्यार्थीबाट शुरु भएको कक्षामा अहिले ६० जना विद्यार्थी भर्ना भएका छन् ।

शिक्षा शाखाका अनुसार हाल नरैनापुरमा २१ सामुदायिक, २६ मदरसा र ३ संस्थागत विद्यालय सञ्चालनमा छन् । शिक्षा शाखाका उपप्रमुख कमल केसीका अनुसार विद्यालयमा सिकेका व्यवहारिक कृषि सिपले विद्यार्थीहरू आफ्ना अभिभावकलाई कम्पोस्ट मल, विषादी बनाउने जस्ता सिपमा तालिम दिन सफल भएका छन् ।

प्रतिक्रिया