नेपालगञ्ज : खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालय नेपालगञ्जले यस वर्षको चाडवाडलक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
नेपालीहरुका ठुला चाडपर्वहरु दसैँ, तिहार तथा छठ पर्वलाई मध्यनजर गर्दै सोमबारबाट कम्पनीको मुख्य शाखा कार्यालय परिसरभित्रै सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको कार्यालयका सूचना अधिकारी वरिष्ठ सहायक शिवराज घिमिरेले जानकारी दिए ।
सूचना अधिकारी घिमिरेका अनुसार सोमबारबाट सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा सेवाग्राहीहरूले चामलमा छुट पाउने छन् । ‘चाडपर्व लक्षित सुपथ मूल्य पसलमा हामीले चामल मात्र राखेका छौँ, सेवाग्राहीले यहाँबाट चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट पाउनुहुनेछ,’ उनले भने ।
नेपालगञ्जमा सञ्चालन गरिएको सुपथ मूल्य पसलमा अरुवा मोटा, अरुवा मध्यम र स्टिम जिरा मसिनो चामल बिक्री वितरण हुनेछ । अरुवा मोटाको प्रतिकिलो ६२ रुपैयाँ, अरुवा मध्यमको प्रतिकिलो ६४ र स्टिम जिरा मसिनो चामलको प्रतिकिलो ८८ रुपैयाँ मूल्य कायम गरिएको सूचना अधिकारी घिमिरेले बताए ।
सेवाग्राहीहरूले हरेक चामल खरिदमा पाँच रुपैयाँ प्रतिकिलो छुट पाउने कार्यालयले जनाएको छ । कार्यालयका अनुसार आगामी कात्तिक १० गतेसम्म सञ्चालन हुने सुपथ मूल्य पसलका लागि २०० क्विन्टल चामल राखिएको सूचना अधिकारी घिमिरेले जानकारी दिएका छन् ।