दैलेख : रोजगारीका लागि साउदी अरब पुगेका दुल्लु नगरपालिका–१३ का गणेशबहादुर शाही स्वदेश फर्केर तरकारी बिउ उत्पादनमा लागेका छन् । स्वदेशमा रोजगारी नभएका कारण खाडी मुलुक गएका उनले नेपालमै व्यावसायिक रूपमा तरकारीको बिउ उत्पादनबाट राम्रो पैसा कमाउन सकिने भएपछि यो पेसामा लागेका हुन् ।
उनी मात्र होइन, दैलेखको दुल्लु नगरपालिका–१३, खातीगौँडाका किसान पछिल्लो समय नगदे बाली तरकारी खेतीप्रति आकर्षित हुन थालेका छन् । विशेष गरी प्याज, बोडी, केराउ, सिमी, गोलभेँडा, भिन्डी, करेला, काँक्रा, चिचिन्डा, लौकालगायतका तरकारी बालीको बिउ उत्पादनमा यहाँका किसानको बढी ध्यान जान थालेको छ ।
जीवन निर्वाह गर्न परम्परागत खेती गर्दै आएका यहाँका किसानले बिउ बिक्रीबाट राम्रो मूल्य पाइने भएपछि खातीगौँडाका १५० घरधुरी व्यावसायिक बिउ उत्पादनमा लागेका हुन् ।
२०६५ सालमा सिप्रेड परियोजनाको सहयोगमा हातेमालो तरकारी बिउ प्रवर्धन सहकारी संस्था निर्माण गरेर बिउ उत्पादनको तालिम लिएका यहाँका किसानले एक करोड ५० लाख रुपैयाँ बराबरको बिउ उत्पादन गरी सहकारीलाई बिक्री गरेका छन् ।
हातेमालो तरकारी बिउ प्रवर्धन सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर शाहीले खातीगौँडा र जिबाटोलका १५० घरधुरी व्यावसायिक बिउ उत्पादनमा लागेर राम्रो आम्दानी गर्न सफल भएको कुरा बताए । उनले सहकारीले बिउ खरिद गरी किसानलाई वितरण गर्ने र किसानले उक्त बिउबाट धेरै बिउ उत्पादन गर्ने गरेको जानकारी दिए । तरकारी बालीको बिउबाट बढी आम्दानी हुन थालेपछि आफूहरू अन्य खेती छाडेर व्यावसायिक तरकारीको बिउ उत्पादन गर्न लागेको दुल्लु नगरपालिका–१३ का बमबहादुर सिंहले बताए ।
बर्खेबाली लगाएर कमाइ गर्न भारतको कालापहाड जाने र हिउँदे बाली लगाउन पुनः गाउँ फर्कने यहाँका अधिकांश किसान बिउ उत्पादनमा लागेपछि कालापहाड जान छाडेको उनले बताए । बिउबाट हरेक किसानले वार्षिक सातदेखि १० लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनको भनाइ छ ।
हातेमालो तरकारी बिउ प्रवर्धन सहकारी संस्थाका अध्यक्ष विष्णुबहादुर शाहीले किसानले उत्पादन गरेको बिउ खरिद गरी चितवन, दाङ, सुर्खेत, बाँकेलगायतका जिल्लामा बिक्री गर्ने गरेको बताए । १५ जनालाई रोजगारी दिएको सहकारीले बिउ, मल खरिदमा बिउ उत्पादन गर्ने किसानलाई पहिलो प्राथमिकता दिने गरेको छ । सहकारीले निःशुल्क प्राविधिक सहयोगसमेत दिने गरेको बताइएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार