Listen LIVE

दाङमा दूध फालेर किसानको विरोध

दाङ : दाङमा किसानले उत्पादन गरेको दूधले बजार नपाएपछि फाल्न बाध्य भएका छन् । शान्तिनगर गाउँपालिका–२ बाघमारे स्थित दीप कृषि सहकारी संस्थामा भण्डारण गरिएको भैँसीको दूध बिक्री नभएपछि फाल्न बाध्य भएका हुन् । 

दुग्ध विकास संस्थानले दूध खरिद गरिदिने भनि सहमति भएसंँगै सहकारीले दूध खरिद गरेर सङ्कलन गर्ने गरेको भएपनि पछिल्लो समय समयमा दूध नलग्ने गर्दा किसानले यसरी दूध फाल्न बाध्य भएको दीप कृषि सहकारी संस्थाका अध्यक्ष नेववहादुर रोकाले बताए । 

विगत दुई वर्षदेखि दूध नियमितरुपमा लग्दै आएपनि पछिल्लो समय नियमित रुपमा नहुँदा किसान समस्यामा परेको भन्दै सहकारी सस्थाका अध्यक्ष रोकाले भने, ‘हामीले उत्पादन गरेको दूध दुई वर्षदेखि संस्थानले लग्दै आएको थियो तर पछिल्लो समय नियमित आउने गरेको छैन । १५ दिनमा एक पटक आउँँदा व्यवसायिक भैँसीपालनमा लागेका किसान समस्यामा पर्नुभएको छ ।’ अध्यक्ष रोकाका अनुसार दैनिक तीन सय लिटर भन्दा बढी दूध उत्पादन हुने गरेको छ । 

वडा नं. २ मा एक सय बढी किसानले दूध उत्पादन गरेर सहकारीलाई उपलब्ध गराउँदै आएका छन् । त्यो दूध दुग्ध विकास संस्थालाई बेच्ने र त्यहाँबाट आएको पैसा सहकारीले किसानलाई दिने गरेको थियो । तर पछिल्लो समय सम्पर्कमा पनि नआउने र बाँकी रहेका पैसा पनि नदिएपछि किसानले बाध्य भएर उत्पादन भएको दूध फालेर विरोध जनाएको किसान नरबहादुर खत्रीले बताए । 

“दुःख गरेर उत्पादन गरेको दूध फाल्न मन थिएन“, किसान खत्रीले भने,“बिक्रीका लागि सहकारीलाई दिएको दूध दुग्ध विकास संस्थानले नलगिदिएपछि बाध्य भएर फालेका हौं ।“ सहकारी संस्थाबाट किसानले करिब २० लाख रुपैँया दूधको लिन बाँकी रहेको सहकारी सस्थाका अध्यक्ष रोकाले बताए ।

प्रतिक्रिया