नेपालगञ्ज : बाँकेका किसानहरुले गहुँ लगाउने तयारी गरिरहँदा डिएपी मलको अभाव देखिएको छ । बाँकेमा कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनले कृषि सहकारीमार्फत किसानहरूलाई रासायनिक मल आपूर्ति गर्दै आएका छन् ।
कृषिमा निर्भर रहेको देश भनिएपनि तीन तहकै सरकारले किसानका लागि मल र बिउ समयमा उपलब्ध गराउन नसक्दा मल अभावको मारका कृषक पर्दै आएका छन् । राप्ती सोनारी ७ का किसान अमर घर्तिमगरले कृषिका लागि तीन तहकै सरकारले योजना बनाए पनि किसानले चाहेको समयमा खेतीका लागि रासायनिक मल पर्याप्त पाउन नसकेको गुनासो गरे ।
आवश्यकताका बेला आवश्यक परेको मल किसानले विगतदेखि नै चाहे अनुसार पाउन सकेका छैनन् । यस बर्ष पनि त्यो दोहोरिने निश्चित जस्तै भएको मगरको भनाई थियो ।
सरकारले अनुदानको ७० प्रतिशत रासायनिक मलको बिक्रीको जिम्मा कृषि सामाग्री कम्पनी लिमिटेड र ३० प्रतिशत अनुदानको मल बिक्रीको जिम्मा साल्ट ट्रेडिङलाई दिएको छ । साल्ट ट्रेडिङमा रासायनिक मलको स्टक शुन्य छ । त्यस्तै कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जमा डिएपी मलको स्टक २३४.०५ मेट्रिक टन रहेकोमा कृषकको माग बढेकाले स्थानीय तह अन्तर्गत दामासाही वितरण गरिरहेको शाखा प्रबन्धक पुष्पराज श्रेष्ठले बताए ।
उनले भने, ‘पछि आउने कोटामा कट्टा हुने गरी मौज्दात मल बिक्री गरेका छौँ’, भने, ‘अहिले डिएपीको माग अत्यधिक छ, तर माग अनुसार आपूर्ति गर्न सकेका छैनौँ ।’
शाखा प्रबन्धक श्रेष्ठले अब डिएपीको स्टक शुन्य हुँदै गएको बताउँदै भने, ‘माग अनुसार दिनसक्ने गरी मल प्राप्त नहुँदा समस्या भएको हो’, उनले भने ‘मलको मागबारे माथिल्लो निकायमा जानकारी गराएको छु, तर कहिले आउने कुनै निश्चित छैन ।’
कृषि सामग्री कम्पनी लिमिटेडमा १ हजार ३ सय ८९.१०० मे. टन युरिया, २ सय ३४.०५ मे. टन डिएपी र २७.८०० मे. टन पोटास रहेको छ । चालु आर्थिक वर्षका लागि कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जले युरिया ६ हजार मेट्रिक टन, डिएपी २ हजार ५ सय मेट्रिक टन र पोटास ३ सय मेट्रिक टन बिक्रीको लक्ष्य राखेको छ । तर, अघिल्लो आर्थिक वर्षमा पनि सोही हाराहारीमा लक्ष्य निर्धारण भएपनि माग अनुसार मल आएको र बिक्री नभएको तथ्याङ्कमा उल्लेख छ ।
कृषि सामग्री कम्पनी लिमिटेडबाट गत आर्थिक बर्ष २०८०–०८१ मा २ हजार ७ सय ५६.१०० मेट्रिक टन युरिया, १ हजार ८ सय १.७०० मेट्रिक टन डिएपी र १ सय १९.८०० मेट्रिक टन पोटास बिक्री भएको थियो । चालु आ।व।को कार्तिक २५ सम्म २ हजार ७ सय २६.३०० मेट्रिक टन युरिया, ६ सय ४५.४ मेट्रिक टन डिएपी र ५०.४०० मेट्रिक टन पोटास बिक्री गरेको शाखा प्रबन्धक श्रेष्ठले जानकारी दिए ।
साल्ट ट्रेडिङ कर्पोरेशन नेपालगन्जका लेखा अधिकृत ध्रुवमान श्रेष्ठले ‘मल हामी कहाँ आउने बित्तिकै हामीले सम्बन्धित स्थानीय तहमा जानकारी दिन्छौँ, सहकारी लिएर जान्छन’, उनले भने, बाँके र बर्दियामा रासायनिक मल वितरण गर्दै आएको साल्ट टे«डिङले चालु आवमा बाँकेमा मात्रै ५० केजीको १० हजार ९ सय ६८ बोरा युरिया, ३ हजार २ सय ८१ बोरा डिएपी बिक्री गरेको छ । अघिल्लो आ।व।मा साल्ट ट्रेडिङले २ हजार ५ सय ७९ मे. टन युरिया, १ हजार ९ सय ५२.९० मे. टन डिएपी र १ सय ५५.३५ पोटास बिक्री गरेको थियो ।
कृषि सामग्री कम्पनीमा बाँकेका आठ स्थानीय तहका १ सय २५ सहकारी चालु आ।व।का लागि नवीकरण भएका छन् भने साल्ट ट्रेडिङ कम्पनीमा बाँकेका ८१ र बर्दियाका १ सय २३ सहकारी सूचिकृत छन् ।
भारतबाट मल ल्याउन बाध्य
नरैनापुरमा निसार अलिले भने‘मल लिनका लागि भारतीय सीमावर्ती बजारमाथि निर्भर रहनुपर्ने बाध्यता छ’, उनले‘मल नहाले उत्पादन घट्ने भएकाले समस्या भएर पनि भारतबाट किनेर ल्याएको छु ।’ धेरै मल ल्याएपछि पनि भारतीय बजारबाट तस्करी गरेर ल्याएको मल भनेर प्रहरीले नियन्त्रणमा लिने गरेको छ । तर, थोरै मल भएपछि ल्याउन पाइने किसान बताउँछन् ।
‘भारतीय बजारबाट आफूलाई चाहिएको जति मल एकै पटक ल्याउन पाइँदैन’, उनले भने, ‘नेपालमा मल पाइँदैन, समस्या नै छ किसानलाई ।’
अनुदानको मल सहकारीमार्फत व्यापारीको हातमा जाने र किसानलाई चाहिने मल सहज आपूर्ति नहुँदा यहाँका अधिकांश किसान भारतीय मलमाथि नै निर्भर रहेका छन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार