Listen LIVE

रैथाने ‘कालानमक’ धान रोप्दै ठाकुरबाबा नगरपालिका

बर्दिया : बर्दियाको ठाकुरबाबा नगरपालिकाले रैथाने ‘कालानमक’ धान खेती शुरु गरेको छ । थारू समुदायले पाहुना वा विशेष अतिथि घरमा आउँदा भात खुवाउन प्रयोग गरिने ‘कालानमक’ धान लोप हुँदै गएपछि नगरपालिकाले यसको संरक्षण र प्रवर्धनको शुरुवात गरेको हो । 

रैथाने बाली कालानमक धानको चामल खानका लागि स्वादिलो र बास्नादार हुन्छ । लोप हुने अवस्थामा पुगेको यो धानको बिउ ठाकुरबाबा नगरपालिकाले उत्पादन गरी नगरवासीलाई वितरण गरेको छ । कालानमक सँगसँगै अनदी, तिल्की, कोठरीलगायतका धान बालीसमेत ठाकुरबाबाले खेती गर्न थालेको छ । 

नगरपालिकाले यस वर्ष तीन बिघा जग्गामा यो खेती सम्पन्न गरेकामा यस पटक पाँच बिघा जग्गामा लोपोन्मुख कालानमक जातको धानको खेती गरेको छ । गत वर्ष १५ क्विन्टल उच्च गुणस्तरको कालानमक धानको बिउ उत्पादन गरेर कृषकलाई बाँडेको कृषि प्राविधिक वीरेन्द्र रावतले बताए । 

बिउकै लागि ३.५ बिघा क्षेत्रफलमा कालानमक बिउ उत्पादन थालिएको कृषि शाखा प्रमुख ध्रुवराज बमले बताए । करिब १० बिघामा अनदी धानको समेत खेती शुरु गरिएको छ । उनले रैथाने बालीको संरक्षण र प्रवर्धनका लागि बिउ बैङ्कमा बिउ राखी प्रवर्धन गरिने बताए ।

उनले गत वर्ष खाद्यान्नका लागि उत्पादन भएको कालानमक धानको ‘ठाकुरबाबा’ नामक ब्रान्डको चामल उत्पादन गरी बिक्री गरिएको छ । कृषकले उत्पादन गरेको करिब ३० क्विन्टल धान सहकारीमार्फत खरिद गरिएको थियो । बमका अनुसार १७० रुपियाँ प्रतिकिलोग्रामका दरले कालानमक चामल बिक्री भइरहेको छ । 

ठाकुरबाबा नगरपालिकाका प्रमुख तिलकराम लम्सालले लोपोन्मुख बालीको संरक्षणका साथसाथै रैथाने कृषि बालीको संरक्षण गरी उन्नत बिउ उत्पादन गर्ने लक्ष्य लिई खेती सुरु गरिएको बताए । नगरप्रमुख लम्सालले रैथाने बालीका लागि क्षेत्रफल विस्तार गरी चक्लाबन्दी खेती र यान्त्रिकीकरणको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।

प्रतिक्रिया