जुम्ला : जुम्लामा रहेको बागवानि अनुसन्धान केन्द्र राजिकोटले तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको छ । करिब १० देखि १२ वर्षको लामो अनुसन्धानपछि तीन वटा नयाँ स्पर जातको स्याउ सिफारिस गरेको हो । आर्थिक वर्ष २०८०–८१ मा स्टार क्रिमसन डेलिसियस, ब्राईट एन अर्ली र स्टार्क स्पर गोल्डेन जातको स्याउ सिफारिस गरिएको वरिष्ठ वैज्ञानिक (एस–३) राजुकमार गिरीले बताए ।
नयाँ सिफारिस गरिएका स्याउका जातहरु रोपेको दुईदेखि तीन वर्षमा फल्न सुरु गर्ने, हरेक वर्ष फल्ने, बोट होचो हुने भएकाले रेड, रोयल र गोल्डेन डेलिसियस जातका स्याउ रोप्ने ६–६ मिटरभन्दा कम दूरीमा रोप्न सकिने गुण भएको उनको भनाइ छ । यस्तै, पुरानो जातको स्याउ एक हेक्टरमा दुई सय ७८ वटा अट्छ भने स्पर जातको स्याउ एक हेक्टरमा चार सय बोट अटाउने गिरीले बताए ।
उनले पुरानो जातको भन्दा एक सय २२ बोट स्याउका विरुवा बढी एउटै जमिनमा अटाउने गुण भएको जानकारी गराए । नयाँ सिफारिस भएको स्पर जातको स्याउका बोक्रा बाग्लो हुने भएकाले भण्डारण अवधि बढी हुनुका साथै ढुवानीमा कम क्षति हुने, स्पर जातका स्याउहरु रेड, रोयल र गोल्डेन जातको स्याउभन्दा १०–१५ दिन ढिलो फुल्ने भएकाले तुसारोबाट बचेको अनुसन्धानका क्रममा पत्ता लागेको छ ।
यस्तै, रोगकिरा कम लाग्ने र सर्वधारण सबै किसानले सजिलै खेती गर्न सक्ने गुण भएको स्पर जातको नयाँ स्याउ सिफारिस गरिएको वैज्ञानिक गिरीको भनाइ छ । यो वर्ष जुम्लामा असिनाले स्याउमा क्षति गरेको बेला बागवानि अनुसन्धान केन्द्र राजिकोटका स्याउ लट्रमै फलेका छन् ।
किसानको बारीमा लगाइएका स्याउ एक वर्ष फल्ने र अर्काे वर्ष नफल्ने समस्या भोगि रहेका बेला राजिकोटमा लगाइएका स्याउ प्रत्येक वर्ष एकै नासले उत्पादन हुने गरेको प्राविधिक हरी सुवेदीले बताए । नयाँ सिफारसि गरिएका स्याउले उत्पादन बढी दिने उनको भनाइ छ । हाल नेपालमा स्याउको उत्पादकत्व ८.५१ मेट्रिकटन प्रति हेक्टर रहेको छ भने सिफारिस जातका स्याउको उत्पादकत्व १४ मेट्रिकटन प्रति हेक्टरभन्दा बढी रहेको छ ।
यसै वर्षबाट बागवानि अनुसन्धान केन्द्र राजिकोटले सिफारिस गरेका तीन वटा स्पर जातका स्याउका कलमी बेर्नाहरु नर्सरी धनि र अगुवा किसानहरुलाई उपलब्ध गराइने भएको छ । सशुल्कमा स्याउका कलमी बेर्नाहरु उपलब्ध गराइने सुवेदीले जानकारी गराए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार