दाङ : दाङको टिमुर पकेट क्षेत्रका रूपमा रहेको पहाडी क्षेत्रमा टिमुरका बिरुवा रोपिएको छ । डिभिजन वन कार्यालयले पाँच वर्षदेखि जिल्लाको तीन पालिकामा पकेट क्षेत्रकै रूपमा टिमुरको बिरुवा रोपण तथा संरक्षण गर्दैआएको छ ।
दाङका पहाडी क्षेत्रमा टिमुरको व्यावसायिक रूपमा खेती गर्न थालिएको छ । बङ्गलाचुली गाउँपालिकाको सबै क्षेत्र, तुलसीपुरको वडा ३, ४ र १९ घोराहीको १८ र १९ नम्बर वडालाई टिमुर पकेट क्षेत्रका रूपमा घोषणा गरिएको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा १९ का किसान परवीर पुनले डिभिजन वन कार्यालयबाट वितरण गरिएको टिमुरका बिरुवा त्यस क्षेत्रका किसानका साथै कालिका सामुदायिक वनमा रोपण गरिएको बताए । उनले विगतमा रोपण गरिएका बिरुवाले उत्पादन दिन सुरु गरेको बताए ।
एउटा बिरुवाले पाँचदेखि दुईसय केजीसम्म उत्पादन दिने गरेको किसान परवीर पुनले बताए । हाल टिमुरको बजार मूल्य प्रतिकेजी पाँचसय रुपैयाँमा बिक्री गरेको किसान पुनले बताए ।
डिभिजन वन कार्यालय दाङका रेन्जर अमित पाण्डेका अनुसार यस वर्ष पकेट क्षेत्रमा रोपण गर्नका लागि करिब दश हजार बिरुवा वितरण गरिएको छ । आगामी वर्षका लागि करिब २४ हजार टिमुरका बिरुवा तयारी अवस्थामा राखिएको छ ।
वार्षिकरूपमा ५ करोड बढी मूल्यको टिमुर दाङबाट निर्यात हुने गरेको डिभिजन वन कार्यालयले जानकारी दिएको छ । टिमुर खेती बलौटो माटोमा ८ सयदेखि दुई हजार मिटरसम्मको उचाइमा हुने गर्दछ । टिमुर चिया, तरकारीमा प्रयोग गरिने मसलासहित औषधीजन्य प्रयोजनका लागि योग्य मानिन्छ भने टिमुर मसलाका साथै आयुर्वेदिक औषधी बनाउन प्रयोग गर्ने गरिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार