नेपालगञ्ज : दशौं लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी यही माघको १४ देखि नेपालगञ्जमा हुने भएको छ । महिला उद्यमी सङ्घ नेपाल बाँकेको आयोजनामा हुने प्रदर्शनी माघ १८ गतेसम्म सञ्चालन हुनेछ ।
महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार र प्रवर्धन गर्ने लक्ष्यसहित महिला उद्यमी सङ्घ नेपाल बाँकेले हरेक वर्ष नेपालगन्जमा प्रदर्शनीको आयोजना गर्दै आएको छ ।
आयोजक महिला उद्यमी सङ्घ नेपाल बाँके अध्यक्ष रेवती सिंहले प्रदर्शनीको तयारी तीव्र गतिमा अगाडि बढिरहेको बताइन् । उनले भनिन, ‘‘महिला दिदीबहिनीहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न यो प्रदर्शनी महत्त्वपूर्ण सावित हुँदै गएको छ । विगतमा जस्तै दशौं संस्करणलाई भव्य बनाउन सम्पूर्ण महानुभावको हामीले सहयोगको अपेक्षा गरेका छौं ।’’
लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीको १०औं संस्करण नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित बागेश्वरी मन्दिर परिसरको पार्कमा हुनेछ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोग र केएल दुगडको मुख्य प्रयोजनमा हुन लागेको यस प्रदर्शनीमा लुम्बिनी प्रदेशका १२ जिल्लासँगै कर्णाली र सुदूरपश्चिमका गरी करिब दुई सय महिला उद्यमीहरुको सहभागिता रहने प्रदर्शनी संयोजक एवम् महिला उद्यमी सङ्घ नेपाल बाँकेको प्रथम उपाध्यक्ष आभा गौतमले बताइन् ।
करिब ७० स्टल रहने प्रदर्शनीमा कृषिजन्य सामग्री, हस्तकला, खाद्य सामग्री, अल्लो तथा ढाकाका कपडाहरु, फ्लोरिकल्चर, रैथाने उत्पादन, खाना तथा खाजाका परिकार, शृङ्गार तथा गरगहनालगायतका सामग्री तथा वस्तु बिक्री, प्रचार प्रसारका लागि राखिने महिला उद्यमी सङ्घ नेपाल बाँके महासचिव बिन्दु घर्तिमगरले बताइन् ।
करिब ६ लाख रुपैयाँ बजेट रहेको लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी–२०८२ अवलोकन गर्नका लागि निःशुल्क व्यवस्था गरिएको आयोजकले जानकारी गराएको छ । प्रदर्शनीका दौरान विज्ञहरुको उपस्थितिमा महिला उद्यमीहरुको क्षमता अभिवृद्धिको लागि बैंकिङ कारोबार, उद्यमशीलताको बारेमा अभिमुखीकरण कार्यक्रमको समेत आयोजना गरिनेछ ।
महिला उद्यमीहरुको प्रोत्साहनका लागि आयोजना गरिने यस लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनीले महिला उद्यमीहरुमा उत्साह जगाइहेको महिला उद्यमीका नेतृत्वहरुले बताएका छन् ।
प्रदर्शनीले नव आगन्तुक उद्यमीहरुलाई सिक्ने अवसर दिइरहेको महिला उद्यमी महासङ्घ नेपालको केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश अध्यक्ष सरस्वती शर्माले बताइन् । महिला उद्यमी सङ्घ नेपाल बाँके निवर्तमान अध्यक्ष सावित्रा पोख्रेल बस्नेतले प्रदर्शनीले हरेक वर्ष नयाँ उद्यमी उत्पादन गरिरहेको बताइन् ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार