प्युठान : प्युठान नगरपालिका–४ का नवीनकुमार श्रेष्ठले चार वर्षअघि धान फल्ने झिमरुक फाँटमा ड्र्यागन फ्रुट खेती सुरु गर्दा धेरै जना हाँसे । स्थानीयले इन्जिनियरले खेती गर्छ ? भन्ने प्रश्न गर्दै बाउबाजेको सम्पत्ति सक्ने भयो भन्नेसम्मका आरोप उनले सुन्नुप¥यो ।
आज ती व्यङ्ग्य गर्नेकै अगाडि श्रेष्ठ ड्र्यागनका सफल व्यवसायी बनेका छन् । आइटी इन्जिनियर श्रेष्ठले आफ्नै १६ रोपनी र भाडामा लिएको छ गरी २२ रोपनीमा ‘ईशान अर्गानिक एग्रो’ सञ्चालन गर्दै आएका छन् ।
कोरोना महामारीका बेलामा लोकबहादुर गुरुङसँग मिलेर ८० लाख रुपैयाँ लगानीमा सुरु भएको यो व्यवसायले गत वर्ष ४२ लाख आम्दानी ग¥यो । यस वर्ष ५० लाखको लक्ष्य छ ।
प्रतिकिलो ४५० रुपैयाँ पर्ने ड्र्यागन काठमाडौँ, बुटवल हुँदै दिल्लीसम्म पुग्छ । श्रेष्ठले भने, “बोटमै पाकेको अर्गानिक ड्र्यागन भएकाले माग धेरै छ ।”
सुरुवाती चरणमा चितवन र दाङबाट ल्याइएको बिरुवा सुक्ने रोग लाग्दा चिन्ता बढेको थियो तर अहिले आफ्नै फार्ममा उत्पादन गरिएका छ हजार बोटले फल दिन थालेका छन् ।
ड्र्यागनसँगै अम्बा, मौसमी र बेमौसमी तरकारी खेती पनि छ । फार्ममै गँड्यौला मल उत्पादन गरेर जैविक खेतीको अभ्यास भइरहेको छ । फार्म व्यवस्थापक गुरुङका अनुसार चार जनाले स्थायी रोजगारी पाएका छन् भने सिजनमा थप १० जनाले काम पाउँछन् ।
श्रेष्ठ मात्रै होइन प्युठान सरुमारानी–२, दर्भानका ७७ वर्षीय नेता केशरबहादुर गुरुङ पनि अहिले ड्र्यागन खेतीमै रमाउँछन् । राजनीतिकरूपमा आबद्ध उनले दर्भान र दाङका दुई बिघा खेतमा अम्बा, बयर र ड्र्यागन खेती गरिरहेका छन् । उनले भने, “अब नेताले भाषण होइन, उत्पादन गरेर देखाउनु पर्छ ।” यो व्यवसायमा तीन जनाको संयुक्त लगानी रहेको छ ।
जिल्लामा ड्र्यागन खेती सुरु गर्ने पहिलो व्यक्ति गुरुङ हुन् । व्यवसायीका अनुसार एक पटक रोपिएको ड्र्यागनले २५ वर्षसम्म फल दिन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार