Listen LIVE

विद्यालयस्तरीय पौडी प्रतियोगिता नेपालगञ्जमा सम्पन्न

नेपालगञ्ज : नेपालगञ्जमा पौडी प्रतियोगिता सम्पन्न भएको छ । पूर्व खेलाडी समाज बाँकेको आयोजना तथा नेपालगञ्ज उपमहानगरपालिकाको सहयोगमा पौडी प्रतियोगिता सम्पन्न भएको हो ।

प्रथम मेयर कप अन्तर विद्यालय पौडी प्रतियोगिता २०८३ शुक्रबार नेपालगञ्जस्थित रंगशाला परिसरभित्र रहेको पौडी पोखरीमा सम्पन्न भएको हो । प्रतियोगितामा नेपालगञ्जका १४ वटा विद्यालयका ८२ जना छात्र–छात्राको सहभागिता रहेको थियो । विभिन्न उमेर समूहका छात्र तथा छात्राहरूबीच फ्रिस्टाइल, ब्याकस्ट्रोक, ब्रेस्टस्ट्रोक र बटरफ्लाई विधामा प्रतिस्पर्धा गराइएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न प्रतियोगिताको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै शिखा एकेडेमीका सुशान्त बोहरा उत्कृष्ट छात्र घोषित भए । उनले नगद ५ हजार ५ सयसहित प्रमाण पत्र प्राप्त गरे । यस्तै स्प्रिङ्डेल एकेडेमीकी नित्याश्री दहित उत्कृष्ट छात्रा घोषित भई नगद ५ हजार ५ सयसहित सम्मानित भइन् । विद्यालयगत समग्र अंकतर्फ शिखा एकेडेमी १२३ अंकका साथ प्रथम, सोफिया रेसिडेन्सियल स्कूल २२ अंकका साथ द्वितीय तथा स्प्रिङ्डेल एकेडेमी १४ अंकका साथ तृतीय स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि तथा आयोजक संस्थाका पदाधिकारीहरूले पदक, ट्रफी, प्रमाणपत्र तथा पुरस्कार वितरण गरेका थिए । 

समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि बिष्टले पौडी खेल स्वास्थ्य, अनुशासन र जीवन रक्षासँग प्रत्यक्ष सम्बन्धित खेल भएको उल्लेख गर्दै विद्यालयस्तरबाट खेलकुद गतिविधिलाई प्राथमिकता दिनुपर्ने बताए । उनले यस्ता प्रतियोगिताले बालबालिकाको प्रतिभा पहिचान गर्न तथा राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी दिनमा नेपालगञ्ज उपमहानगरपालिकाले खेलकुद विकासका लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।

कार्यक्रमका अध्यक्ष तथा पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठले समाजले पूर्व खेलाडीहरूको अनुभवलाई नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उनले प्रतियोगितामा विद्यालयहरूको उत्साहजनक सहभागिता देखिएको भन्दै आगामी वर्षहरूमा प्रतियोगितालाई अझ व्यापक र व्यवस्थित बनाइने जानकारी दिए ।

समाजका सल्लाहकार अजितकुमार शर्माले पौडी खेलको महत्वबारे चर्चा गर्दै बाँके जिल्लामा जलक्रीडाको सम्भावना उच्च रहेको बताए । उनले विद्यालयस्तरमै खेलाडी उत्पादन गर्न सके प्रदेश तथा राष्ट्रियस्तरमा बाँकेको प्रतिनिधित्व अझ सशक्त बन्ने धारणा व्यक्त गरे ।

आयोजकका अनुसार प्रतियोगिताले विद्यालयस्तरमा पौडी खेलप्रति आकर्षण बढाउनुका साथै नयाँ प्रतिभा पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको छ । प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिका, सहभागी विद्यालय, प्रशिक्षक, अभिभावक तथा स्वयंसेवकप्रति आयोजकले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया