काठमाण्डौ : वाकोट, ककनीका २८ वर्षीय छेसाङ तामाङले ६ वर्षदेखि स्ट्रबेरी खेती गरिरहेका छन् । ६ रोपनीमा स्ट्रबेरी खेती गरिरहेका उनी उत्पादनदेखि ग्रेडिङ, प्याकेजिङ र बजारीकरणसम्म आफैं गर्छन् । ‘बुवाको किराना पसल छ, आमाको चिया घर, दाइ सरकारी जागिरमा छन्,’ उनले भने, ‘दिदीहरूको आफ्नै पसल छ । स्ट्रबेरी फार्म म नै हेर्छु ।’
२०७२ को भूकम्पपछि ‘नमुन्चेत कृषि फार्म’ दर्ता गरेर उनी स्ट्रबेरी खेतीमा होमिएका हुन् । पछिल्लो समय व्यावसायिक रूपमा खेती गरिरहेको उनले सुनाए । ‘पहिला बुबाआमाले स्ट्रबेरी खेती गर्नहुन्थ्यो, ककनीको नगदेबाली नै यही थियो,’ उनले भने, ‘पहिला निर्वाहमुखी खेती मात्र थियो । फल्न थालेपछि ठेकेदार घरमै आउँथे ।’
‘पहिला उत्पादन भए पनि बजारका लागि अरुको भर पर्नुपर्थ्यो, अहिले आफ्नै बजार छ,’ उनले भने, ‘आफ्नो सँगै गाउँका अन्य किसानसँग पनि संकलन गरेर स्ट्रबेरी बेच्छु ।’ सिजनमा स्ट्रबेरी संकलन गर्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गरी बजारमा लैजाने र किसानलाई बिरुवा बेच्नेदेखि मलजलबारे परामर्श दिनेसम्मका काममा आफैं खटिरहेले उनले सुनाए ।
ककनी क्षेत्रमा स्ट्रबेरी रोप्न थालेको २५ वर्षभन्दा बढी भइसक्यो । नुवाकोटको काउले, ककनी, हिलेभित्ता, चित्रे, कुलेलगायत क्षेत्रमा झन्डै ४ सय ५० घरधुरीले खेती गरिरहेका छन् । सिजनमा मात्रै ककनीमा स्ट्रबेरी कारोबार ५० करोड रुपैयाँ बराबरको हुने गरेको उनले सुनाए । यसअघि स्ट्रबेरीको बिरुवा रोप्ने र फ्रेस फल बेच्ने गरिए पनि पछिल्लो दुई वर्षदेखि बिरुवादेखि फ्रोजन स्ट्रबेरी बेच्नेसम्मको काम भइरहेको उनले बताए ।
अहिले अन्य उद्योगमार्फत स्ट्रबेरी जाम बनाई बेचिरहेको समेत छेसाङले सुनाए । ‘आगामी दिनमा जाम कारखाना खोल्ने योजना छ, एक्लैले गर्न नसकिने रहेछ,’ उनले भने । उनका अनुसार असारमा बिरुवा तयार गर्ने, नर्सरी राख्ने गरिन्छ । ‘भदौमा बिरुवा रोपिन्छ, रोपेको २ देखि साढे दुई महिनामा उत्पादन हुन थाल्छ,’ उनले भने, ‘कात्तिकदेखि वैशाखसम्म फल दिन्छ ।’
उनका अनुसार सिजन सुरु भएपछि हरेक दिन फल टिप्ने, ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने काम सुरु हुन्छ । ‘राति ८÷९ बजेसम्म प्याकेजिङ गरी तयार गर्छौं, भोलिपल्ट ५ बजे माछापोखरी आइपुग्नुपर्छ,’ उनले भने, ‘माछापोखरीबाट दाङ, पोखरा, धादिङ, चितवन, इटहरी, धरान झापाका गाडिमा स्ट्रबेरी पठाउँछौं ।’ जिल्लामा पठाइसकेपछि उपत्यकाभित्रका लागि जमल न्युरोड, भैंसीपाटी, लगनखेल, सातदोबाटो, बौद्ध चाबहिल, नक्साललगायत ठाउँमा पसल, मार्ट र सुपरमार्केटलगायतमा स्ट्रबेरी पु¥याउने गरेको उनले सुनाए ।
बिहान ८ बजेसम्म सामान दिने र पैसा उठाएर फर्किसक्नुपर्ने उनको भनाइ छ । प्याकेजिङका लागि २ जना कर्मचारी र फार्ममा १ जना कर्मचारी राखिएको छेसाङले बताए । धेरै अपेक्षा नरहे पनि मासिक ३०–५० हजार रुपैयाँ कमाउने लक्ष्य रहेको उनको भनाइ छ । स्ट्रबेरीको सिजन सुरु भएपछि दैनिक ५ हजार किलो बजारमा आउने उनले सुनाए । ‘सिजनमा दैनिक ५ हजार किलो स्ट्रबेरी ककनीमै हुन्छ, त्यसलाई मागअनुसार बजारमा पठाउँछौं, मागभन्दा बढी पठाइयो भने मूल्य घट्छ,’ उनले भने, ‘उत्पादन धेरै भयो भने जाम बनाएर र फ्रोजन बनाएर राख्छौं ।’ अत्यधिक स्ट्रबेरी बजारमा पठाउँदा मूल्य घट्ने हुँदा २ वर्षदेखि फ्रोजन गर्ने गरेको उनले जानकारी दिए ।
अहिले आफूसँग ७ सय किलो जति फ्रोजन स्ट्रबेरी रहेको र मागअनुसार बजारमा पठाउने गरेको उनले बताए । ‘स्ट्रबेरीको पात छुट्याएर पखालिसकेपछि फ्रिजमा राख्छौं, आइसजस्तै डल्लो भएपछि प्याकेजिङ गरी भ्याकुम गर्छौं । त्यसपछि कोल्डस्टोरसँग सम्पर्क गरी राख्छौं,’ उनले भने । कोल्डस्टोरमा राखेबापत प्रतिकेजी मासिक ७ रुपैयाँ भाडा तिर्नुपर्ने उनले बताए । घाटा नहोस् र मूल्य पनि नघटोस् भन्ने उद्देश्यले यसतर्फ आकर्षित भएको उनले सुनाए ।
सिजनमा ग्राहक आफैं फार्ममा गएर स्ट्रबेरी टिपेर खान सक्ने व्यवस्था पनि रहेको उनले सुनाए । ‘अहिले फार्म भिजिट मात्र छ, बिस्तारै फार्म स्टेका लागि काम गर्ने योजना छ,’ उनले भने, ‘काठमाडौंदेखि नजिकको पर्यटकीय गन्तव्य रहेकाले राम्रै हुन्छ ।’ ककनी पुग्ने बाटो राम्रो भएको खण्डमा अहिले पनि सिजनमा उत्पादनको ३० प्रतिशत त्यही खपत हुन सक्ने उनको आकलन छ । स्ट्रबेरी खेतीबारे जानकारी दिन थोपा सिँचाइसहितको ‘हाइटेक फार्म’ बनाउने योजनासमेत उनको छ । ‘स्कुल कलेजका विद्यार्थी र स्ट्रबेरी किसानलाई पनि जानकारी दिन अब अत्याधुनिक फार्म बनाउने योजना हो,’ उनले भने, ‘हाम्रो खेती परम्परागत रूपमै रहेकाले बिस्तारै काम गरिरहेको छु ।’
पहिलो एउटा बोटले सिजनमा औसतमा एक किलो उत्पादन दिने गरे पनि अहिले घटेको उनको बुझाइ छ । ‘पुरानै ठाउँ र त्यही माटोमा वर्षौंदेखि खेती लगाइरहेका छौं,’ उनले भने, ‘त्यसैले माटोको उर्वराशक्ति घट्दै गएको छ । उत्पादन कसरी बढाउने भनेर खेती गर्ने तरिका, प्रविधि, मलजलमा काम गर्दै छु ।’ ककनीबाटै स्ट्रबेरी लगेर रोपिएको भोजपुरमा एउटा बोटले डेढ किलोसम्म उत्पादन भएको उनले सुनाए ।
उनले २ वर्षयता स्ट्रबेरीको बिरुवा पनि बेच्दै आएका छन् । आफ्ना बिरुवा दाङ, भोजपुर, सिन्धुपाल्चोक, चितवन र ललितपुरसम्म पुगिरहेको उनले बताए । ‘पहिला फल मात्र बेच्थें, बिरुवा आफ्नै लागि हुन्थ्यो, अहिले बिरुवा पनि बेच्छु,’ उनले भने, ‘अहिले त वार्षिक ५० हजार बिरुवा बेचेका छौं ।’
केही गर्न नसकिएपछि कृषि गर्ने भन्ने आमसोचाइ रहे पनि पछिल्लो समय युवा नै अग्रसर भएको उनको अनुभव छ । ‘अहिले त धेरै जना स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै छन्, उनीहरूलाई बिरुवा रोप्नेदेखि फल उठाउनेसम्म जानकारी दिइरहेको छु,’ उनले भने, ‘मलजल के चाहिन्छ ? कस्तो माटो चाहिन्छ । सबै बुझाउँदै छु ।’ आगामी दिनमा फार्म स्टे र उपत्यकामा आफ्नै आउटलेट (स्ट्रबेरी साथै स्थानीय उत्पादन ड्रागन फ्रुट, किबी, एभोकाडो) खोल्ने योजना उनको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार