दाङ : दाङको तुलसीपुर उपमहानगरपालिका–७ गणेशपुरस्थित राप्ती शान्ति उद्यान (गणेशपुर पार्क) मा पर्यटकको आकर्षण बढ्न थालेको छ । त्यहाँ राखिएको शान्तिका अग्रदुत गौतमबुद्धको मूर्ति हेर्न र वनजङ्गलसहितको सुन्दर वातावरणमा रमाउन धेरै जना यहाँ पुग्ने गरेका छन् ।
उद्यान व्यवस्थापन समितिका अध्यक्ष डिल्लीराज भण्डारीले भने, ‘यो ठाउँ आफैँमा सुन्दर छ, सामुदायिक वन दृश्य हेर्न लायक छ । त्यसैमा गौतमबुद्धको मूर्ति निर्माण गरेर शोभा बढाएपछि पर्यटकको आकर्षण पनि बढेको छ ।’
त्यहाँ पानीको फोहोरा, कृतिम पहाडबाट बगिरहेको झरना, चिडियाखानामा राखिएका बाघ, बाँदर, उल्लु, खरायोका बच्चा, चित्तल लगायत जनवारसँग पनि छन् । त्यसैले पनि पर्यटकलाई रमाउन सहज भएको छ । यहाँ रहेको पोखरीमा डुङ्गाको व्यवस्था छ ।
तीन वटा डुङ्गामा सयर गर्ने व्यवस्था गरिएको छ । पोखरीमा माछा पालन गरिएको छ, जहाँ हाल पाँच हजार माछा रहेका अध्यक्ष भण्डारीले बताए । त्यहाँ रहेको हात्ती, गैँडाको प्रतिमाले पनि उत्तिकै रौनक थपेको उनले बताए । हाल रङ्गौली गार्डेन र पिङ निर्माणको कार्य भइरहेको छ ।
त्यो निर्माण भएमा अझै आकर्षण बढ्ने अध्यक्ष भण्डारीको विश्वास छ । ‘हामीले यहाँ घोडा पनि व्यवस्था गरेका छौँ । भित्र विभिन्न प्रजातिका फूलहरू छन् । त्यसले पनि सौन्दर्य थपिरहेको छ । चिल्ड्रेन पार्कमा पनि मानिसहरू उत्तिकै झुमिएका देखिन्छन् । पिङ, स्वीमिङदेखि बच्चाहरूले खेल्ने हरेक सामग्री राखेका छौँ,’ उनले भने ।
भण्डारीका अनुसार यहाँ दैनिक ४०० देखि ५०० जनाले अवलोकन गर्छन् । चाडपर्व र बिदाको समयमा भने दैनिक दुई–तीन हजार बढीले अवलोकन गर्ने गरेको उनले सुनाए । यसरी सरदर वार्षिक दुई लाखभन्दा बढी पर्यटकहरुले गणेशपुर पार्कको अवलोकन गर्ने गरेका भण्डारीले बताए ।
यहाँ बाँके, बर्दिया, सल्यान, रुकुम, रोल्पाबाट समेत अवलोकनका लागि आउने गरेका छन् । विद्यार्थीलाई ५० प्रतिशत छुट र अपाङ्ग, असहाय, ज्येष्ठ नागरिकलाई निःशुल्क प्रवेशको व्यवस्था रहेको छ । त्योबाहेक अन्यले रु ३० को टिकेट काट्नुपर्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार