काठमाण्डौ : राष्ट्रपति रामचन्द्र पौडेलले जापानी व्यापारिक समुदायलाई नेपालमा व्यापारिक अवसरको खोजीका लागि आह्वान गरेका छन् ।
उनले जापानी व्यापारिक समुदायलाई नेपालमा लगानी र व्यापारका लागि हरसम्भव सहयोग प्रदान गर्न नेपाल सरकार कटिबद्ध रहेको विश्वास व्यक्त गरे ।
नेपाल र जापान बिचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानको टोकियोमा सोमबार आयोजित जापानका व्यापारिक समुदायका सदस्यहरूसँगको अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले नेपाल जापानी निजी क्षेत्रसँग घनिष्ठ साझेदारी निर्माण गर्न चाहन्छ भने ।
“हामीले लगानीमा आकर्षक प्रतिफलका साथै नाफा र पूँजी फिर्तीका लागि सहज प्रक्रियाहरू सहितको स्थिर समष्टिगत आर्थिक वातावरण तयार गरेका छौं, नेपाल सरकार वैदेशिक लगानीमा पूर्ण सहयोग, निर्बाध सहजीकरण र सुरक्षा प्रदान गर्न प्रतिबद्ध छ”, राष्ट्रपति पौडेलले भने ।
उनले नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव मनाउँदै गर्दा हाम्रा दुई पक्षबिच पारस्परिक लाभका क्षेत्रमा गहन सहकार्य अघि बढाउन यो उपयुक्त क्षण पनि भएको बताए ।
राष्ट्रपति पौडेलले गौतमबुद्धको दर्शनले हामी आल्हादित भएको र नेपाल र जापानको सम्बन्ध सांस्कृतिक रूपले आदिकालदेखि रहेको उल्लेख गर्दै भने–गौतमबुद्धले भनेका थिए–शान्तिको विजय त्यो हो जसमा कसैको हार हुँदैन ।
उनले नेपालमा निर्धक्कसँग लगानी गर्न र व्यापार गर्न आह्वान गर्दै कृषि, जलस्रोत र पर्यटनजस्ता क्षेत्रमा लगानी गरेर नेपाललाई पनि धनी बनाउन र जापानले पनि फाइदा लिन आग्रह गरे । उनले भने–“नेपालमा लगानी गरे धन पनि हुन्छ ! धर्म पनि हुन्छ।”
“नेपाल र जापानबिच सद्भाव, मित्रता र सहयोगमा आधारित उत्कृष्ट सम्बन्ध रहिआएको छ, आज यहाँको व्यापारिक समुदायको उत्साहजनक सहभागिता नेपाल र जापानबिच तिब्र व्यापार र लगानी सम्पर्क स्थापित गर्न फलदायी हुने छ भन्ने मेरो विश्वास छ”, राष्ट्रपति पौडेलले भने ।
यो वर्ष हाम्रा दुई मुलुकबिचको कूटनीतिक सम्बन्धको ऐतिहासिक ७० औं वार्षिकोत्सव भएको तथा हाम्रा सम्बन्धहरू सरकारी मात्र होइन जनस्तरमा पनि प्रगाढ हुँदै गएको सन्दर्भमा नेपालको सामाजिक–आर्थिक विकास प्रयासहरूमा एक विश्वसनीय विकास साझेदारका रूपमा दशकौंदेखि जापानले गरेको सहयोगको उनले उच्च प्रशंसा गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार