नेपालगञ्ज : नेपालगञ्ज स्वीमिङ क्लबले बाँकेमा पहिलो पटक पौडीको लाइफगार्ड तालिम दिएको छ ।
क्लबले नेपाल पौडी संघको प्राविधिक सहयोगमा सञ्चालित ५ दिने लाइफगार्ड तालिम दिएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ का वडाध्यक्ष दीपक वर्मा र नेपालगञ्ज स्वीमिङ क्लबका वरिष्ठ उपाध्यक्ष तथा कार्यवाहक अध्यक्ष सूर्यमणि अधिकारीले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
वडाध्यक्ष वर्माले पौडी पोखरीमा हुने डुबान न्यूनीकरणका लागि मात्र नभएर बाढी प्रभावित बाँके र बर्दियाका बासिन्दाको उद्धार र प्राथमिक उपचारमा तालिम निकै उपयोगी हुने दाबी गरे ।
कार्यवाहक अध्यक्ष अधिकारीले पश्चिम नेपालमै पहिलो पटक लाइफ सेभिङ तालिम आयोजना गरेको बताउँदै सहभागीहरूलाई तालिममा सिकेको ज्ञान र सीप डुबानमा पर्ने व्यक्तिहरूको उद्धारमा प्रयोग गर्न आग्रह गरे ।
उक्त अवसरमा क्लबका संरक्षक तथा आजीवन सदस्य कमलकुमार कार्कीले सहभागीहरूलाई आफूले सिकेको सीप र ज्ञानलाई मानवीय सेवाको क्षेत्रमा लगाउन आग्रह गरे ।
तालिममा नेपाल पौडी संघका प्राविधिक निर्देशक तथा पौडीका अन्तर्राष्ट्रिय रेफ्री विष्णु खड्का क्षेत्रीको नेतृत्वमा पौडी प्राविधिकहरू ईश्वर कार्की, अनिष महर्जन र दीपक सागर सिंहका साथै नेपाल रेडक्रस सोसाइटी बाँकेका सीपीआर/फस्र्ट एड इन्स्ट्रक्टर प्रह्लाद विश्वकर्माले सहजीकरण गरेका थिए ।
नेपाली सेनाका २ जनाका साथै बाँकेमा रहेका तारे होटलका पौडी पोखरीका लाइफगार्ड र पौडी खेलाडी गरी १५ जनाको सहभागिता रहेको क्लबका महासचिव कृष्णप्रसाद अधिकारीले जानकारी दिए । नेपालगञ्ज स्वीमिङ क्लबले यसअघि संघकै प्राविधिक सहयोगमा जिल्लामै पहिलो पटक पौडी प्राविधिक तालिम दिएको थियो ।
यसैबीच नेपालगञ्ज स्वीमिङ क्लबले नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १८ का वडाध्यक्ष दीपक वर्मालाई सम्मान गरेको छ ।
हालै सम्पन्न नबिल बैंक नेपालगञ्ज तेस्रो इन्टरनेसनल स्वीमिङ च्याम्पियनसिप २०८३ मा सहयोग गरेर पौडी खेलको प्रवद्र्धन गरेको भन्दै क्लबका कार्यवाहक अध्यक्ष सूर्यमणि अधिकारी, कोषाध्यक्ष ऋषिराम कँडेल, क्लबका संरक्षक तथा आजीवन सदस्यद्वय कमलकुमार कार्की र राजीव तलंगाले वडाध्यक्ष वर्मालाई सम्मान गरे ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार