Listen LIVE

संरक्षणको अभावमा नेपालगञ्जको कान्तिताल

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका–२१ र २२ वडामा अवस्थित कान्तिताल संरक्षण र उचित रेखदेखको अभाव भएको छ । यो ताललाई नेपालगञ्ज सहरकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सोचका साथ उपमहानगरले विसं २०७५ मा महत्वाकाङ्क्क्षी योजना अघि बढाएको थियो । तर, संरक्षण र उचित रेखदेखको अभाव देखिएको छ ।

स्थानीय पूर्वाधारको विकास र सौन्दर्य अभिवृद्धिका लागि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ करिब रु १० करोड खर्चिसकेको छ । सौन्दर्य अभिवृद्धिका लागि हालिएका आकर्षक रेलिङहरू भत्किएका छन् भने पूरा ताल क्षेत्र झाडी र बुट्यानले भरिएर आफ्नो अस्तित्व गुमाउने अवस्थामा पुगेको नेपालगञ्ज–२२ पुरैनीका अगुवा चेतबहादुर थापाले बताए ।

उनका अनुसार, कान्तिताल केवल पूर्वाधार मात्रै नभई जैविक विविधताको दृष्टिकोणले पनि उत्तिकै महत्वपूर्ण मानिन्छ । यहाँ विभिन्न प्रजातिका चराचुरुङ्गीहरूको प्राकृतिक बासस्थान छ । पर्यावरण र चरा संरक्षणको क्षेत्रमा कार्यरत अभियन्ताहरूले ताललाई पुरानै लयमा फर्काउन र यसको प्राकृतिक स्वरूप जोगाउन निरन्तर आवाज उठाइरहेका छन् । तर, पटक–पटक सरोकारवाला निकायलाई घच्घच्याउँदा पनि हालसम्म कुनै ठोस सुनुवाइ हुन सकेको छैन ।

झाडीले ढाकिएको यो ताल क्षेत्र रात परेपछि झनै जोखिमपूर्ण बन्ने गरेको छ । अहिले कान्तिताल लागुऔषध दुव्र्यसनीहरूको सुरक्षित जमघटस्थल बनेको छ । साँझपख यहाँ हुने शङ्कास्पद गतिविधिले आसपासका बासिन्दालाई त्रसित बनाएको थापाले बताए ।

ताल सञ्चालनका लागि वार्षिक २८ लाख उपमहानगरलाई राजस्व बुझाउने सम्झौतासहित ठेक्का लिएका फनबहादुर गुरुङले ताल परिसरमा बनाइएका रेलिङ र पूर्वाधारहरू लागुऔषध प्रयोगकर्ताहरूले तोडफोड गरेको हुन सक्ने बताए ।

नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजाल विगतमा बनाइएका योजनाहरू सोचेजस्तो सफल हुन नसकेको स्वीकार गरे ।

'विगतमा बनाइएका योजनाहरूले अपेक्षाकृत नतिजा दिन सकेनन,' उनले भने, 'अब हामी सरोकारवाला निकायका प्रतिनिधिहरूसँग गहन छलफल गरेर कान्तितालको दिगो संरक्षण र व्यवस्थापनका लागि प्रभावकारी नयाँ योजना बनाउने तयारीमा छौँ ।'

कुनै समय नेपालगञ्जको पर्यटन र आर्थिक समृद्धिको ढोका खोल्ने अपेक्षा गरिएको कान्तिताल संरक्षण गरिनुपर्ने नेपालगञ्जका नागरिक अगुवा कृष्णप्रसाद श्रेष्ठले बताए ।

प्रतिक्रिया