Listen LIVE

आर्थिक समृद्धिमा सरकार केन्द्रित छ : परराष्ट्रमन्त्री राणा

धनगढी : परराष्ट्रमन्त्री आरजु देउवा राणाले नेपालका सबै परिवर्तन नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर ल्याएकाले आर्थिक समृद्धि पनि मिलेरै ल्याउने बताएकी छन् । नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश समिति र जिल्ला समितिका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन कार्यक्रममा मन्त्री राणाले यस्तो बताएकी हुन् । 

‘धेरै पुस्ताको सङ्घर्षपछि प्राप्त संविधानपछि पनि छिटोछिटो सकार परिवर्तनले नागरिकको इच्छा अनुसारको समृद्धि हासिल गर्न नसक्ने कुरा महसुस भएर कांग्रेसका सभापति र एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक ठाउँमा उभिने काम गर्नुभएको हो’ मन्त्री राणाले भनिन, ‘दुवै दलका पदाधिकारीको कार्यदलका आधारमा मन्त्रीपरिषद्ले काम गरिरहेको छ, सरकार आजै ढल्छ भोलि ढल्छ भन्ने हल्ला नचलाउन अनुरोध गर्दछु ।’

मन्त्री राणाले नेपाल राजनीतिजस्तै आर्थिक, सामाजिक रूपान्तर र विकास गर्न पुराना कानुन संशोधन गरेर निजी क्षेत्रलाई आकर्षित गर्ने र औद्योगिक वातावरण बनाउन सरकार लागेको बताइन् । उनले सरकार लोकतन्त्रलाई बलियो बनाउन सामाजिक सञ्जाललाई व्यवस्थित गर्न लागेको जानकारी दिइन् ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशको सञ्चार नीति तयारी अवस्थामा रहेको र आउँदो अधिवेशनबाट पास भएमा सबै मिडियालाई सम्बोधन हुने बताए ।

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, आर्थिक मामिलामन्त्री बहादुरसिंह थापा, सामाजिक विकासमन्त्री मेघराज खडका लगायतका मन्त्री, प्रदेश सभा सदस्यहरू, प्रेस युनियनका अध्यक्ष शिव लम्साल, प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया