नेपालगञ्ज : भारतबाट सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार महसुल तिर्नुपर्ने नियमलाई कडाइका साथ लागु गरिएपछि सहायक नाकाबाट तस्करी बढेको छ ।
यहाँस्थित मुख्य नाका जमुनाहामा तालिम प्राप्त कुकुर परिचालन गरेर चेकजाँचमा कडाइ गरिएपछि तस्करी गर्ने र अवैध आयात गर्नेहरुले साइड नाकालाई प्रयोग गरिरहेको पाइएको छ ।
तस्करी र अवैध आयातबिरुद्ध कडा रुपमा कारवाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले दैनिकजसो ठुलो परिमाणमा भन्सार छलेर भारतबाट भित्र्याइएको सामान नियन्त्रणमा लिन थालेपछि सो पुष्टि भएको हो ।
सोही क्रममा पछिल्लो.पटक प्रहरीले नेपालगञ्जबाट ११ लाख ११ हजार रुपैयाँको अवैध सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक रमेश विष्टले भन्सार राजस्व छलेर भारतबाट भित्र्याइएको ११ लाख ११ हजार रुपैयाँ बराबरको मोबाइलको पार्टपूर्जा, लत्ताकपडा, खाद्यान्न, कस्मेटिक, इलोक्ट्रोनिक सामान र सुर्तिजन्य पदार्थ प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाए ।
उनले मुख्य नाकामा सय रुपैयाँभन्दा बढीको सामानमा कडाई गर्दै भन्सार महसुल असुली थालिएपछि साइड नाका तथा अन्य बाटोहरुबाट अवैध आयातका प्रयास तीव्र पारिए पनि प्रहरीले सक्रियता बढाउँदा अवैध सामान बरामद हुनेक्रम बढेको बताए ।
मुख्य नाकामा कडाइ गरिएसँगै अन्य नाकामा पनि कडाइ गरिएको र सोको लागि भारतीय सुरक्षा निकाय एसएसबीसँग समन्वय र सम्पर्क भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी विष्टले बताए ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार