नेपालगञ्ज : भारतको वाराणसीबाट सञ्चालन हुँदै आएको रेलसेवा नेपाल–भारत सीमाको रुपइडिहास्थित नेपालगञ्ज रोड स्टेसनसम्म विस्तार हुने भएपछि पश्चिम नेपालको व्यापार, पर्यटन तथा आवागमनमा नयाँ सम्भावना देखिएको छ ।
भारतीय रेल मन्त्रालयले वाराणसी सिटी–गोरखपुर रेलसेवा रुपइडिहास्थित नेपालगञ्ज रोड स्टेसनसम्म विस्तार गर्ने निर्णय गरेसँगै नेपालगञ्जसहित बाँके, बर्दिया तथा पश्चिम नेपालका व्यवसायी र सर्वसाधारण उत्साहित भएका छन् । सेवा विस्तारपछि पश्चिम नेपाल भारतका प्रमुख व्यापारिक तथा धार्मिक सहरसँग रेलमार्फत प्रत्यक्ष जोडिने छ ।
भारतीय रेल विभागले सार्वजनिक गरेको विवरण अनुसार १५१३२ वाराणसी सिटी–नेपालगञ्ज रोड एक्सप्रेस र १५१३१ नेपालगञ्ज रोड–वाराणसी सिटी एक्सप्रेस नियमित सञ्चालनमा आउने छन् । यसबाट भारतका ठुला व्यापारिक सहर तथा प्रमुख बजारसम्म पश्चिम नेपालका नागरिकको पहुँच सहज हुने अपेक्षा गरिएको छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीले रेलसेवा विस्तारले नेपालगञ्जको व्यापारिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । उनका अनुसार नेपालगञ्ज पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र भएकाले भारतसँगको व्यापारिक पहुँच विस्तार हुनुका साथै होटेल, यातायात, गोदाम, खुद्रा व्यापार र अन्य सेवाक्षेत्रमा समेत गतिविधि बढ्ने सम्भावना छ ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष नन्दलाल वैश्यले भारतका प्रमुख बन्दरगाह तथा व्यापारिक केन्द्रबाट सीमावर्ती क्षेत्रसम्म मालसामान ल्याउनसमेत रेलसेवा उपयोगी हुन सक्ने बताए । उनले व्यापारिक वस्तुको ढुवानी सहज भए सीमावर्ती बजारको आर्थिक गतिविधि थप विस्तार हुने अपेक्षा गरे ।
रुपइडिहास्थित उत्तरप्रदेश उद्योग व्यापार मण्डलका अध्यक्ष शैलेश जयसवालले रेलसेवा विस्तारबाट सीमावर्ती नेपाल र भारत दुवैतर्फका उद्योगी, व्यवसायी तथा सर्वसाधारण लाभान्वित हुने बताए ।
रेलसेवाको विस्तारले पर्यटनक्षेत्रमा पनि नयाँ अवसर सिर्जना गर्ने व्यवसायीको अपेक्षा छ । पर्यटन प्रवर्धन मञ्च बाँकेका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठले वाराणसीलगायत भारतका धार्मिक क्षेत्रबाट आउने पर्यटकलाई नेपालगञ्ज हुँदै पश्चिम नेपालका पर्यटकीय गन्तव्यसम्म पुग्न सहज हुने बताए ।
उनका अनुसार नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका पर्यटकीय गन्तव्यमा भारतीय पर्यटकको पहुँच बढाउन रेलसेवाले सहयोग गर्न सक्छ । त्यस्तै नेपालबाट भारतमा धार्मिक तथा स्वास्थ्योपचारका लागि जाने यात्रुलाई समेत सहज हुने छ । रेलसेवा विस्तारबाट बाँके र बर्दियासँगै कैलाली, सुर्खेत, दाङ, कर्णाली तथा सुदूरपश्चिमका यात्रुलाई समेत अप्रत्यक्ष रूपमा लाभ पुग्ने अपेक्षा गरिएको छ ।
नेपालगञ्जका नागरिक अगुवा होन्तराज काफ्लेले शिक्षा तथा स्वास्थ्योपचारका लागि भारत जाने विद्यार्थी र बिरामीका लागि रेलसेवा विशेष उपयोगी हुने बताए । भारतीय रेल विभागले सार्वजनिक गरेको समयतालिका अनुसार वाराणसी सिटीबाट राति १०ः३५ बजे छुट्ने रेल बिहान ४ः०० बजे गोरखपुर आइपुग्ने छ । गोरखपुरमा १० मिनेटको विश्रामपछि ४ः१० बजे छुटेर बिहान ११ः२० बजे नेपालगञ्ज रोड स्टेसन आइपुग्ने छ ।
फर्किने क्रममा नेपालगञ्ज रोडबाट दिउँसो ४ः१५ बजे छुट्ने रेल राति १२ः१० बजे गोरखपुर पुग्ने छ । गोरखपुरमा १० मिनेटको विश्रामपछि पुनः प्रस्थान गरी बिहान ८ः३० बजे वाराणसी सिटी पुग्ने समयतालिका छ ।
नेपालगञ्जसम्म ब्राडगेज रेलसेवा विस्तार गर्नुपर्ने माग सीमावर्ती क्षेत्रका नागरिक तथा व्यवसायीले लामो समयदेखि उठाउँदै आएका थिए । नेपालगञ्ज रोडसम्म सेवा विस्तार गर्ने निर्णयसँगै उक्त मागले मूर्त रूप पाएको व्यवसायीको भनाइ छ ।
रेलसेवा विस्तारलाई पश्चिम नेपालको व्यापार, पर्यटन, रोजगारी तथा सामाजिक आवागमन विस्तार गर्ने महत्वपूर्ण पूर्वाधारका रूपमा हेरिएको छ । यद्यपि यसको वास्तविक लाभ लिन नेपालतर्फको सीमा, यातायात तथा अन्य पूर्वाधारलाई पनि रेलसेवासँग जोडेर व्यवस्थित गर्नुपर्ने आवश्यकता देखिएको छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार