नेपालगञ्ज : नेपालगञ्जको बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा आज विहान ठूलो संख्यामा उपस्थित व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व समापन गरेका छन् । यस अघि आइतबार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका थिए । सूर्यको उपासना र आराधना गर्दै मनाइने आस्थाको महापर्व छठका लागि बागेश्वरी मन्दिर परिसरको तलाउलाई यस वर्ष पनि आकर्षक रूपमा सजाएर 'छठी घाट' बनाइएको थियो ।
छठ पर्व मनाउनेको संख्या वर्षेनी बढ्दै जाँदा नेपालगञ्जमा यसको रौनक र उल्लास समेत बढ्दै गएको छ । पछिल्ला केही वर्षयता बागेश्वरी मन्दिर परिसरस्थित तलाउमा छठ मनाउने भक्तजनको उल्लेख्य भीड लाग्ने गरेको छ । छठ पर्वका अवसरमा तलाउ क्षेत्रमा आकर्षक टेन्ट तथा विद्युत् बत्तीको सजावट, बाजागाजाको व्यवस्था, सांस्कृतिक भजन प्रस्तुतिका लागि मञ्च निर्माण र घाटको सरसफाइ गरिएको थियो । साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका व्रतालुहरूले उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि यस वर्षको छठ पर्व विधिवत् रूपमा समापन गर्नेछन् ।
पहिले विशेषगरी पूर्वी तराईमा धुमधामका साथ मनाइने छठ पर्व पछिल्लो समय पश्चिम नेपालमा समेत उत्तिकै उत्साह र श्रद्धाका साथ मनाउन थालिएको छ । धार्मिक आस्था, पवित्रता र प्रकृतिप्रतिको सम्मानसँग जोडिएको यस पर्वको आकर्षण नेपालगञ्जमा पनि वर्षेनी बढ्दै गएको छ ।
चार दिनसम्म विभिन्न विधि र परम्परा अनुसार मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरूले नुहाएर चोखो भई अरबा अरबाइन (शुद्ध सात्त्विक भोजन) ग्रहण गर्छन् । दोस्रो दिन खरना विधि अन्तर्गत प्रसादका रूपमा खिर ग्रहण गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइन्छ भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि छठ पर्वको समापन हुन्छ ।
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार